पाकिस्तानले आतंककारीलाई प्रश्रय दियोः मोदी

नयाँदिल्ली, ३२ साउन – भारतको ७० औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी पाकिस्तानको तिखो आलोचना गरेका छन् । उनले पाकिस्तानले आतंककारीहरूलाई प्रश्रय दिने गरेको आरोप लगाए । उनले भने, ‘आतंकवादीहरूले भारतमाथि आक्रमण गरिरहेका छन् तर तिनैको गुणगान पाकिस्तानले गाइरहेको छ ।’
आफूहरू भने आतंकको पक्षमा कहिले पनि समर्थन नगर्ने उनले स्पष्ट पारे । ‘हामीमाथि आक्रमण गर्नेलाई पाकिस्तानले जय जयकार गर्नेगर्छ । पाकिस्तानमा गत वर्ष भएको तालिवानको आक्रमणबाट १ सय ३० जना बालबालिका मारिएको घटनामा भने हामीले आतंकवादीको कडाभन्दा कडा विरोध गरेका थियौं’, प्रधानमन्त्री मोदीले भने ।
यसका साथै प्रधानमन्त्री मोदीले पाकिस्तानको बलुचिस्तान र पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा मानवअधिकार हनन गरेको बताए । उनले भने, ‘त्यस क्षेत्रका नागरिकले हामीलाई राम्रो मानेका छन् किनभने हामीले उनीहरूका समस्याको बारेमा विचार विमर्श गर्ने गरेका छौं ।’
भाारतमा आफ्नो साम्राज्यवाद कायम राखेको बेलायत सन् १९४७ को अगस्त १५ मा भारतबाट फिर्ता हुनु परेको थियो । यसै दिनको स्मरण गरी भारतमा स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।
कश्मीरमा आक्रमण, १० सुरक्षाकर्मी घाइते
स्वतन्त्रता दिवसको दिन पारेर कश्मीरमा हिंसा भड्किएको छ । भारत प्रशासित कश्मीरमा सशस्त्र व्यक्तिले गोली हानी १० जनालाई गम्भीर रूपमा घाइते बनाएका छन् । कश्मीरमा प्रहरीले कफ्र्यु आदेश जारी गरेको छ । एक महिना पहिलेदेखि कश्मीरमा कफ्र्यु लगाइएको छ । सोमबार कफ्र्यु उल्लंघन गर्न खोज्नेलाई कारबाही गर्ने क्रममा अज्ञात बन्दुकधारीले अकस्मात् सुरक्षाकर्मीमाथि गोली प्रहार गरेका थिए । गोली लागेर भारतीय अर्धसैन्य बलकासदस्य नराम्ररी घाइते भएका हुन् । त्यस क्षेत्रमा सोमबार बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
गोलीबाट कश्मीर समस्या सल्टिदैन : पाकिस्तान
इस्लामाबाद: पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सरताज अजिजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइप्रति प्रतिक्रिया व्यक्त गरेका छन् । उनले मोदीले कश्मीर समस्याबारे विश्वको ध्यान हटाउन खोजेको आरोप लगाए । उनले भारत प्रशासित कश्मीर अहिले भारतको नियन्त्रणमा नरहेको आशयको अभिव्यक्ति दिएका छन् । पाँच सातादेखि कश्मीरमा प्रदर्शन भइरहेको छ । भारत सरकारले निर्दोषको हत्या गरेको भन्दै आफू चिन्तित भएको दाबी गरे ।
गोलीको भरमा भारतले कश्मीरमा शासन गर्न खोजेको उनले आरोप लगाए । बलुचिस्तान पाकिस्तानको अभिन्न अंग भएको स्पष्ट पार्दै अजिजले भारतीय गुप्तचर संस्था ‘र’ले त्यहाँका आतंकवादीलाई सघाएको उनले बताए ।