अपाङ्गता भएका व्यक्तिलाई जिविकोपार्जनको लागि आर्थिक सहयोग

अर्जुन कार्की / खबर ‘वे’
बागलुङ, १४ साउन/ अपाङ्गता सरोकार संघ बागलुङको आयोजना र महिला तथा बालबालिका कार्यालय बागलुङको सहयोगमा जिल्लाको भकुण्डेमा सरोकारवाला र अपाङ्गता भएका व्यक्ति तथा अपाङ्गता भएका व्यक्तिहरुका अभिभावक विच भएको समुदायमा आधारित पुर्नस्थापना (सिविआर) अन्तरक्रिया कार्यक्रममा भकुण्डेका ३ जनालाई जिविकोपार्जनको लागि आर्थिक सहयोग गरिएको छ ।
भकुण्डेकी कलि थापालाई बाख्रापालन, गौरी थापालाई कुखुरा पालन र कोपिला थापालाई बंगुर पालनको लागि जनही ४ हजारका दरले आर्थिक सहयोग गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले गाविसमा रहेका सम्पूर्ण प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको दिर्घकालीन शसक्तिकरणका लागि आयोजक संस्थाले गरेको कामको प्रशंसा गरेका थिए ।
अन्तरक्रियामा बोल्दै अपाङ्गता भएका व्यक्तिहरुलाई माया भन्दा पनि अवसर दिनुपर्ने बताउनुभएको थियो ।
उक्त कार्यक्रममा मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको पुर्नस्थापनाका लागि मस्तिष्क पक्षघात स्वभलम्वन समुहले जिल्लामा काम गरिरहेको समुहका संयोजक रमना अर्यालले जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रममा अमृता थापाको अध्यक्षतामा ७ सदस्य अपाङ्गता सञ्जाल समिति भकुण्डे गठन गरिएको थियो । उक्त समितिको सचिव कविराम थापा र कोषाध्यक्ष तुलसी थापा रहनुभएको छ ।
अपाङ्गता सञ्जाल समिति भकुण्डेका सचिव कविराम थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत मस्तिष्क पक्षघात स्वभलम्वन समुहकी संयोजक रमना अर्यालले गरनुभएको थियोभने संचालन अपाङ्गता सरोकार संघका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले गर्नुभएको थियो । भकुण्डे गाविसमा ६५ जना अपाङ्गहरु रहेको कार्यक्रम संयोजक घिमिरेले जानकारी दिनुभयो । उक्त कार्यक्रममा १६ जना अपाङ्गहरुले आवश्यक सामाग्रीहरुको तथ्याङ्ग दिएका छन् ।