नवीन शिशिर
बागलुङ, १४ साउन
करिव एक हप्ता यता बागलुङ बजारमा प्रति सेकेन्ड १८ लिटर पानी अपुग भएको छ ।
अविरल वर्षासँगै आएको बाढी पहिरोले बागलुङ बजारको लागि रेशको भुँदी खोलाबाट पाईप मार्फत लिएको पानीको पाईप विभिन्न स्थानमा पहिरो बगाउँदा माग अनुसार पानीको आपूर्तिमा समस्या भएको हो ।
भुँदीखोला मुहान नजिकै १० पिस र बानपा–६ बोक्सेखाल्डोमा पहिरोले खानेपानीको पाईप बगाए पछि विगत एक सातादेखि आवश्यकता अनुसार पानी वितरणमा समस्या भएको बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो ।
हाल बजासवासीको लागि रेश खोला र रिठेखोलाको पानी मात्र वितरण गरिदै आइएको छ । बजार क्षेत्रभित्र प्रतिसेकेन्ड ३२ लिटर पानीको माग रहेको छ । रेश खोला र रिठेखोलाबाट अहिले प्रति सेकेन्ड २२ लिटर पानी उपलब्ध भएको छ । बाँकी १८ लिटर पानी आपूर्तिको लागि प्रयास भए पनि मर्मतका सामाग्री ढुवानीमा समस्या हुँदा भएकाले केही समय लाग्ने प्रबन्धक केसीले जानकारी दिनुभयो ।
पानी आपूर्तिमा समस्या भए पछि संस्थाले रेश खोलाको पानी विहान बजारको क्षेत्र र दिउँसो रामरेखा क्षेत्रमा तथा रिठेखोलाको पानी उपल्लाचौर र शिवधारचोकमा पालो प्रणालीमा वितरण गरेको छ ।