पहिरो पिडीतहरुको लागि राहत सामाग्री पठाइयो

बागलुङ, १३ साउन
बागलुङको पश्चिम क्षेत्रका पहिरो पीडित समुदायको लागि तत्कालिन राहत सामाग्री पठाइएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको भ्यान मार्फत पहिरो पीडितहरुको लागि त्रिपाल, चामल, चाउचाउ, विष्कुट लगायतका खाद्य सामाग्रीको साथै लत्ताकपडा विहिबार विहानै सदरमुकामबाट पठाएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जानकारी दिनुभयो ।
गृहमन्त्रालय तथा जिल्ला स्थित विभिन्न सामाजिक संघ संस्थाको अगुवाईमा संकलन भएको राहत सामाग्री बूर्तिवाङ्ग केन्द्र बनाएर आवश्यकता र माग अनुसार प्रभावित गाविससम्म पुगेर वितरण गरिने बताइएको छ ।
प्रभावित गाविसमा राहत सामाग्री वितरणको लागि तीन वटै सुरक्षा निकाय, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा स्थानीय अगुवाहरुकोसँग सहकार्य भैरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
जिल्लाको अधिकारीचौर, दर्लिङ, भीमगिठे, बूर्तिवाङ, ग्वालिचौर राजकुट लगायतका गाविसमा पहिरोले जनधनको क्षति पु¥याएको थियो ।