संघीयता मुलुकको लागि अभिषाप अधिकारी

विजय राना
बागलुङ, १२ साउन
राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रिय सचिव कृष्ण अधिकारीले संघीयता देशको लागि अभिषाप हुने बताउनु भएको छ ।
राष्ट्रिय जनमोर्चा बागलुङले बुधबार बागलुङमा आयोजना गरेको राष्ट्रियताको रक्षा तथा संघीयताको खारेजी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकारीले संघीयताले देशलाई विखण्डन गराउने भन्दै संघीयतालाई संविधानबाट खारेजी गर्नु पर्ने बताउनु भयो ।
अधिकारीले संघीयता देशलाई कमजोर र विखण्डन गराउने उद्धेश्य सहित विस्तारवादीहरुले चोर दुलोबाट ल्याएको बताउँदै राष्ट्रिय अखण्डता कायम गर्नको लागि सबै नेपाली एक भएर त्यसको प्रतिरोधमा लाग्नु पर्नेमा जोड दिनु भयो । अधिकारीले ‘राष्ट्रियताको रक्षा तथा संघीयताको खारजी’ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
केन्द्रिय सदस्य लक्ष्मी बास्कोटाले संघीयता सैद्धान्तिक हिसाबले राम्रो र नराम्रो भन्दा पनि नेपालको सन्दर्भमा राष्ट्रलाई कमजोर बनाउने र नेपाललाई सिकिमीकरण गराउने योजना सहित आएको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव नवराज पौडेलले राष्ट्रियताको लागि संघीयता ठिक नभएको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा, नेकपा माओवादीका बाबुलाल शाक्य, नेकपा माओवादी क्रान्तिकारीका ऋषिराम रोका, नयाँ शक्ति नेपालका बमबहादुर गुरुङ, नागरिक समाजका संयोजक काजि गाउँले श्रेष्ठ, नेपाल पत्रकार महासघंका सदस्य विजय रानाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाको अध्यक्षता, जिल्ला सदस्य थानेश्वर सुवेदीको स्वागत र भिमलाल पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।