पहिरोमा पुरिएका गर्भवति महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

बागलुङ, १२ साउन/ सोमवारदेखीको अविरल बर्षाका कारण आएको पहिरोमा पुरिएर गम्भिर घाइते भएका बागलुङको पश्चिम राजकुटका एक गर्भवति महिलालाई आज हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ ।
बर्षा सँगै आएको पहिरोले घर भत्किदा पुरिएका राजकुत ७ कुडुलाका २२ बर्षिया सुशिला तामाङलाई हेलिकप्टर मार्फत थप उपचारका लागी काठमाण्डौ लगिएको हो । पहिरोमा परी तामाङका ८ बर्षिया छोरी तुजी तामाङ र भतिजी डिकी तामाङको मंगलवार घटनास्थलमै ज्यान गएको थियो ।
तामाङको आकस्मिक उपचारका लागि बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा लगायतले बिशेष पहल गरेका थिए । ‘८ महिनाको गर्भ रहेको पाइयो, प्रजिअ पाण्डेले भने, जिल्ला सदरमुकाम ल्याउन सडक अवरुद्ध भएको र भएको बच्ची पनि पहिरोमा निधन भएकाले बिशेष पहल गरिएको हो ।
एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले पनि गर्भवति तामाङको स्वास्थ्य अवस्था र परिवारका सदस्य गुमाएको दुःखद घटनाका कारण गृहमन्त्री भिम रावललाई फोन गरेर हेलिकप्टरको व्यवस्था गरिएको बताए ।
‘सिडिओ सापले गृह र रक्षा सचिवलाई पत्राचार र फोन गरेर पहल गर्नुभो, उनले भने, मैले मन्त्री ज्यूलाई महिलाको अवस्थाबारे समस्या राखे पछि यो व्यवस्था भएको हो ।