
बागलुङ, ११ साउन
अविरल वर्षाको कारण उर्लिएर आएको बडिघाट खोलाको बाढीले अधिकारीचौर ७ दोगाडीका १६ घर बगाएको छ भने ३ घर उच्च जोखिममा परेका छन् ।
अधिकारचौर ५ को घर्लाङमा बाढीले १९ घर बगाएको छ । अधिकारीचौर ४ ओख्रेनीमा पनि केही घर बगाएको र पुर्ण जानकारी आउन बाँकी रहेको प्रहरी उपरिक्षक चक्रबहादुर सिहंले जानकारी दिनुभयो ।
‘अधिकारीचौरमा मात्रै तीन दर्जन बढी घर बगाएको छ,’ सिहले भन्नुभयोे, ‘पश्चिम क्षेत्रका अन्य गाविसमा पनि धेरै घर बगाएको जानकारी आउने क्रम जारी छ ।’ यसका लागी इलाका प्रहरी कार्यालय बुर्तिबाङ, झिवाखोला, भिमगिठेबाट प्रहरी टोली घटनास्थल तर्फ गएको छ । उहाँका अनुसार भिमगिठे १ मा ५ घर, ८ मा ५, ९ मा २ घर बगाएको छ भने बुर्तिबाङ १ मा तीन घर बगाएको जानकारी आएको छ । दिनको समय भएकाले मानिसहरु सुरक्षित स्थानमा गएकाले मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।
बाढीले दर्जनौ झोलुङ्गे पूल पनि बगाएको छ । दर्जनौ घर उच्च जोखिममा रहेका छन् । बुर्तिबाङ र आसपासका डेढ दर्जन भन्दा बढी लघु जलबिद्युत आयोजना अवरुद्ध बनेका छन् । स्थानीय स्तरमा सञ्चालित दुई एफएम पनि बन्द भएका छन् ।
यस्तै, बुर्तिबाङ बजार पनि बाढिको उच्च जोखिममा परेको छ । नदि आसपासका घर तथा खेत बगाईसकेको छ । जसमध्ये बुद्धजँग श्रीपालीले ब्यबसायिक रुपमा सञ्चालन गरेको बँगुर फर्म बगाँउदा फर्म सहित ३५ वटा बँगुर बगाएको छ ।