बागलुङ, ११ साउन/ दुई दिन देखि अविरल परेको बर्षाले गएराती घर भत्केर यहाँकी एक बालिकाको मृत्यु भएको छ ।
बुंगादोभान–७ की शुसिला तामाङको घर भत्केर उनकी छोरी दुही तामाङको मृत्यु भएको प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले बताउनु भयो । घटनास्थल बुर्तिवाङ देखि ८ घण्टा पश्चिम पैदल दुरीमा पर्छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।
बर्षातकै कारण बुंगादोभान प्रहरी चौकीमा बाढी पसेको छभने बजारका अधिकांश घरमा बाढी पसेपछि भागाभाग भएको छ । टेलिफोन समेत सम्पर्क नभएपछि सबैले सुरक्षित स्थान खोजेर बस्न थालेको प्रहरीले बतायो ।
बर्षातकै कारण भीमगिठेका खोलाछेउका बासिन्दा त्रसिद भएका छन् । बडीगाड खोला बढेर बस्तीमा पस्ने जोखिम भएपछि स्थानीयले सुरक्षित स्थान खोजेर बसेको प्रहरीले बतायो । बर्षातले के कति क्षति पुगेको छ भन्ने यकिन नभएको सिंहले बताउनु भयो । साथै बर्षातले हिलाम्मे भएपछि बुर्तिवाङ जाने सडक पनि ठाउठाउमा अवरुद्ध भएको छ । गाउघरमा पहिरो गएकोले आउजाउमा समस्या परेको हो । बर्षातकै कारण बुंगादोभानमा रहेका दुइ वटा लघुजलविद्युतको पाइपलाइन बगाएको छ । उक्त स्थानमा विद्युत, टेलिफोन समेत नभएपछि स्थानीयले घटनाको खवर समेत गर्न पाएका छैनन् । प्रहरीले पनि आफ्नो सेटबाट खवर गर्न नसकेको बताइएको छ ।