बागलुङ, १० साउन/ भीमापोखरा युवा क्लब बागलुङले विदेशी तथा स्वदेशी भोलेन्टियरलाई बागलुङमा स्वागत गरेको छ । करिब ३ महिनाका लागि बागलुङको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा काम गर्न आएका भिएसओ/आईसिएस भोलेन्टियरहरुलाई स्वागत गरेको हो ।
बेलायतबाट आएका ११ जना र नेपालका विभिन्न क्षेत्रबाट आएका ११ जनालाई क्लबले समुदाय स्तरमा गएर काम गर्ने बिषयमा जानकारी गराएको थियो । उनीहरुले हरेक एउटा विद्यालयमा ८ जनाको टोलीले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
स्वागत कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले जिल्लाको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गर्ने भोलेन्टियरका लागि समय छोटो भएकाले समय थप गर्न पहल गर्नुपर्ने बताए । यस्तै व्यवहार परिवर्तन तथा जिविकोपार्जन सुधारका लागी शिक्षाको विकास र विस्तार गर्न आवश्यक रहेको कार्यक्रमका सहभागीले बताएका थिए ।
कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्याय, बागलुङ नगरपालिका कार्यालयका योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्लवका अध्यक्ष अमर थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत उपाध्यक्ष मणिभद्र शर्मा र संचालन सचिव तोयानाथ गौतमले गरेका थिए ।