
खबर बे/म्याग्दी ८ साउन
म्यागासेसे पुरस्कार विजेता समाजिक अगुवा महावीर पुनले सुरू गरेको राष्ट्रिय आविस्कार केन्द्र बनाउने अभियानमा दैनिकजसो सहयोग जुट्ने क्रम जारी छ ।
सरकारी दैलोमा धाउँदा पटकपटक आश्वासन बाहेक केही नपाएका पुनले जनताको सहयोगबाट केन्द्रको स्थापना गर्ने घोषणा गरेपछि सुरु भएको आर्थिक सहयोग अभियानमा हाल सम्म ३७ लाख सङ्कलन भएको बताउनुभयो ।
म्याग्दीका समाजसेवी एवम् ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य र उहाँको धर्मपत्नी रेश्मा शाक्यले सोही अभियानका लागि १० हजार १०५ सहयोग गर्नुभएको छ ।
ठमेल स्थित पुनको नेपाल कनेक्सन क्याफेमा एक कार्यक्रम गरी शाक्य दम्पतीले उक्त रकम हस्तान्तरण गरेका थिए । परोपकारी संस्था ओम कुमारी शान्ति कोषका अध्यक्ष एवम् म्याग्दी उद्योग वाणिज्य सघंका महासचिव समेत रहनु भएका शाक्यले राष्ट्रिय अभियानमा व्यक्तिगत सहयोग मार्फत सहभागिता जनाएको र आगामी दिनमा संस्थागगत सहभागिता जनाउने प्रतिबद्धता जनाउनुभएको थियो ।
शाक्यले आर्थिक समस्याका कारण उपचारबाट वञ्चित भएका हरेक म्याग्देलीलाई व्यक्तिगत रुपमा प्रति व्यक्ति पाँच हजार सहयोग गर्दै आउनुभएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार बिजेता पुनले पटकपटकका सरकारले आश्वासन दिएकै कारण आविस्कार केन्द्रको अभियानमा ढिलाइ भएको उल्लेख गर्दै जनताको सहयोगबाटै केन्द्रको स्थापना गरेर देखाउने बताउनुभयो । हरेक दिन आइरहेको सहयोगबाट अभियान जनताकै सहयोगबाट सम्भव छ भन्ने आत्मविश्वास समेत बढेको उहाँको भनाई छ । पुनले जनताको सहयोगबाट नै ५० करोड संकलन गरेर केन्द्रको स्थापना गर्ने र समृद्ध नेपाल बनाउने आफ्नो योजना रहेको बताउनुभयो ।
केन्द्र विज्ञान, प्रविधि सँग मात्रै केन्द्रित नभई कृषि, पर्यटन, जलविद्युत सहित नेपालमा उत्पादन हुने सबै उत्पादनमा केन्द्रित हुने उहाँको भनाइ थियो । पुनले अभियानमा साथ दिन स्वदेश तथा विदेशमा रहेका नेपालीलाई आग्रह गर्नुभयो ।