खबर ‘वे’
म्याग्दी ८ साउन/ म्याग्दीको लुलाङ र मुनामा शनिबार गएको पहिरोले दुई वटा गोठ बगाउनुका साथै दुई लघुजलविद्युत परियोजना बन्द भएका छन् । थप बिस घर पहिरोको जोखिममा परेका छन् । मुना हुदै लुलाङ, गुर्जा र ढोरपाटन जोड्ने घोरेटो बाटो पहिरोले बगाएको छ ।
पहिरोले विद्युतगृहमा क्षत्ती गरेपछि मुना ४ मा रहेको ६० किलोवाट क्षमत्ताको प्रथम दरखोला र लुलाङको लमसुङ स्थित ३५ किलोवाट क्षमत्ताको दोस्रो दरखोला लघुजलविद्युत परियोजना शनिबारदेखि बन्द भएको हो ।
लुलाङ गाविसका तिन सय र मुना गाविसका आठ सय घरधुरी विद्युत सुबिधाबाट बञ्चित भएका छन् । विद्युतगृह भवन भत्कने अवस्थामा रहेका छन् । टर्वाईन, जेनेरेटर लगाएका सामाग्रीहरुमा क्षत्ती पुगेकाले विद्युत उत्पादन बन्द भएको प्रथम दरखोला लघुजलविद्युत परियोजनाका अध्यक्ष डम्मरबहादुर भण्डारीले बताउनुभयो ।
मुनाको दरको पहिरो
यसैगरी लुलाङ गाविस ६ मा पर्ने जुकेपानीको भिरबाट खसेको पहिरोले दुई वटा गोठ बगाएको छ भने दोस्रो दरखोला लघुजलविद्युत परियोजनाको विद्युतगृह र नहरमा क्षत्ती पुगेको छ । शनिबार बिहान सात बजेदेखि निरन्तर पहिरो खसीरहेको लुलाङका बासिन्दा दलबहादुर बिकले बताउनुभयो ।
कृष्णबहादुर श्रीपाली र गोरे बिकको घर पहिरोको जोखिममा परेपछि सुरक्षित ठाउँमा सरेका छन् । लमसुङ गाउँको शिरानबाट खसेको पहिरोले लमसुङ मावि, स्वास्थ्य चौकी, पशु सेवा केन्द्रको कार्यालय रहेका सार्वजनीक भवनका साथै २० वटा घरहरु पनि जोखिममा परेका लुलाङ निमावीका प्रअ नागेन्द्र ठाकुरले बताउनुभयो ।
पहिरोले मुना हुदै लुलाङ, गुर्जा र ढोरपाटन शिकार आक्षर जाने घोरेटो बाटो पूर्ण रुपमा बगाएको छ । घोरेटो बाटो पहिराले पुरेपछि आवत जावत बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयले ताकम प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जनाएको छ ।
घटनास्थल पुगेको प्रहरी टोली जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सघाउने र क्षत्तीको विवरण संकलन गर्ने प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताउनुभयो । लुलाङ जिल्ला सदरमुकाम बेनीदेखि करिब ५० किलोमिटर पश्चिमतर्फ पर्छ ।