७ साउन/प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बेलामा ‘रहस्यपूर्ण ढङ्गले अस्वस्थ घटनाक्रम सुरु गरिएको बताउनुभएको छ । उहाँले यसले मुलुकमा राजनीतिक अस्थिरता वृद्धि गर्ने बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले दिएको सन्देशमा पछिल्ला केही दिनयताका घटनाबाट सिङ्गो मुलुक र लोकतन्त्रका पक्षधर जनता चिन्तित र गम्भीर भएको र यसले जनताको आधारभूत हितमा आँच पुर्याउने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । यस्ता घटनाले अन्ततोगत्वा मुलुकलाई पछाडि धकेल्ने जोखिम उत्पन्न गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
“सङ्कीर्ण दलीय या व्यक्तिगत स्वार्थप्रेरित कदमले राष्ट्रलाई दूरगामी नकारात्मक असर पुर्याउन सक्ने यथार्थप्रति गम्भीर हुन र लोकतान्त्रिक शक्तिबीचको एकतालाई कमजोर गर्ने गतिविधि नगर्न म सम्बद्ध सबैलाई हार्दिक आह्वान गर्दछु”, नेकपा ९एमाले० का अध्यक्ष समेत रहेका ओलीले जारी गरेको वक्तव्यमा भनिएको छ ।
संविधानको प्रभावकारी कार्यान्वयनका माध्यमबाट लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, समावेशी र सङ्घीय शासन प्रणाली जस्ता उपलब्धिलाई सुदृढ गर्नु र सुखी जनता र समृद्ध राष्ट्र निर्माणको लक्ष्य हासिल गर्नु यतिबेलाको सबैभन्दा महत्वपूर्ण र साझा राष्ट्रिय दायित्व हो भन्दै उनले राष्ट्रिय स्वाभिमान, स्वतन्त्र आत्मनिर्णयको अधिकार र नेपालको सार्वभौम हैसियतलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । अनलाईन खबर डटकमबाट