अहिलेको मुख्य कार्यभार संविधानको कार्यान्वयनः थापा

प्रताप बानियाँ/खबर ‘वे’
म्याग्दी, ७ साउन/ नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाले अहिलेको मुख्य कार्यभार संविधानको कार्यान्वयन रहेको बताएका छन् । ३८औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको ‘संविधानको कार्यान्वयनमा राजनीतिक सहमति र सहकार्य’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले सत्ता परिवर्तनभन्दा पनि संविधान कार्यान्वयन मुख्य काम भएको बताउँनु भएको हो ।
उहाँले मधेशी दलहरुले भनेअनुसार संविधानको पुनर्लेखन कुनै पनि हालतमा नहुने बताउँदै संविधानको आवश्यकताअनुसार दुई तिहाई बहुमतद्वारा संविधान संशोधन गर्न सकिने स्पष्ट पार्नु भयो । केन्द्रीय सदस्य थापाले संविधान निर्माणका बेला एकजुट भएका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र वर्तमान समयमा आएर सत्ता परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै यसले मुलुकलाई निकास दिन नसक्ने बताउनुभयो ।
IMG_0022

संसदको कार्यसुचीमा चढेका बजेटसँग सम्बन्धित तीनवटा विनियोजन आश्रित विधेयक छलफल गराउनुपर्नेमा सभामुखले अविश्वासको प्रस्तावलाई प्राथमिकता दिएर गल्ती गरेको उनले आरोप लगाए । उनले सभामुखले संसदको कार्यव्यवस्था परामर्श समिति, सरकार, प्रधानमन्त्री र मुख्य दलका शीर्ष नेताहरुसँग छलफल नै नगरी अविश्वासको प्रस्तावलाई अघि बढाएकोमा आक्रोश समेत पोखेका छन् ।
म्याग्दी जिल्ला इन्चार्ज समेत रहेका थापाले सरकारले संविधान कार्यान्वयन, भूकम्पपीडितको व्यवस्थापन, देशको विकास निर्माण लगायतका विषयलाई संसदमार्फत प्रस्तुत गरी अविश्वासको प्रस्तावको सामना गर्ने तयारी गरिरहेका बेला एमालेले सत्ता लम्ब्याउन चाहेको भन्नु कुनै तुक र औचित्य नभएको भन्दै खण्ड गर्नुभयो । संविधान निर्माण गर्दा अपनाइएका व्यवस्था र नीतिअनुसार अगाडि बढेर संविधानको कार्यान्वयन गर्न सबै दलहरु मिल्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका कार्यवाहक सभापति केबी भण्डारी, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, राप्रपाका अध्यक्ष एकेन्द्रबहादुर रावल, अखण्ड नेपाल पार्टीका वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर बानियाँले संविधान कार्यान्वयका लागि सबै दलहरु मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
IMG_0018

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक तारानाथ शर्माले ‘संविधानको कार्यान्वयनमा राजनीतिक सहमति र सहकार्य’ विषयक अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । एमाले म्याग्दीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष देवेन्द्र केसी र संचालनसचिव बालकृष्ण सुवेदीले गर्नुभएको थियो ।