महासंघको भवन निर्माण अभियान शुरु

बागलुङ, ७ साउन/ नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नै भवन निर्माणका लागि अभियान शुरु गरेको छ ।

विहिवार भएको महासंघका पदाधिकारी, सल्लाहकार, केन्द्रीय पार्षद समेतको भेलाले भवन निर्माणका लागि सल्लाहकार समिति र निर्माण समिति समेत गठन गरेको छ ।

महासंघका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षतामा निर्माण समिति गठन गरिएको छ । समितिको सदस्यमा दिलीप पौडेल, दिल शिरिष, उषा पौडेल, ताराप्रसाद शर्मा, राम थापा, बिजय राना, रेणु केसी, लोकेन्द्र सुनार, रहनु भएको छ । त्यस्तै पेशागत संगठनका अध्यक्षहरु नरेश कंडेल, उमाकान्त शर्मा रहेका छन् । त्यस्तै सल्लाहकारमा पूर्व अध्यक्षहरु बिदुर खड्का, नारायणदत्त कंडेल, राजेशचन्द्र राजभण्डारी, हरिनारायण गौतम, रामबहादुर जिसी रहनुभएको छ । त्यस्तै सल्लाहकारहरु ज्ञानेन्द्र गौतम, कोपिला कंडेल र रामकृष्ण शर्मालाई राखिएको सचिव दिल शिरिषले बताउनु भयो ।

महासंघका लागि ५० बर्षका लागि भोगाधिकार बानपा २ स्थित जमिनमा बढीमा साँढे तीन तलाको भवन बनाउने महासंघको योजना छ । उक्त योजना तत्कालै सम्पन्न गर्न नसकिने भएपनि प्रारम्भमा पहिलो तला बनाएर महासंघको कार्यालय सार्ने महासंघको तयारी छ । महासंघका सबै सदस्य, छिमेकी शाखा, व्यपारी, समाजसेवी, नागरिक समाज लगायतबाट चन्दा संकलन गर्ने, जिल्ला विकास समिति, नगरपालिका र स्वयंसेवी संस्थाबाट समेतले दिने अनुदानबाटै भवन निर्माण गर्न सकिने ठहर पछि यो तयारी गरिएको हो ।

न्युनतम पारिश्रमिकको माग गरिरहेका पत्रकारले आफ्नै भवन निर्माण गर्न सकेमा सूचना केन्द्र बनाउन सकिने, पत्रकारलाई समाचार लेखनको व्यवस्थापन गर्न सकिने, कार्यक्रम गर्ने आफ्नै हल समेत बन्नेछ । पूर्वाधार निर्माणपछि महासंघले पत्रकारको पेशागत हितमा लड्का लागि समेत सहज हुने अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।
पछिल्लो चरणमा विभिन्न जिल्लामा भवन निर्माणको अभियान चलेको छ । उनीहरुले पनि स्थानीय निकाय, प्रशासन, नागरिक समाज र व्यवसायी समेतको सहयोगमा भवन बनाएका हुन् । उचित पारिश्रमिक नपाएपनि भवन निर्माण गर्ने भएमा सक्दो सहयोग गर्ने पत्रकारले पनि प्रतिवद्धता जनाएका छन् । निर्माण समितिले प्राविधिकको सल्लाहमा क्रमागत लागत स्टिमेट बनाएर अभियानलाई चालु आर्थिक बर्षदेखिनै निर्माण गर्दै लैजाने बताइएको छ ।