नवयुग र फुपुल्हामु उत्कृष्ट खेलाडी चयन

काठमाडौं, ६ साउन/ टेबलटेनिस खेलाडी नविता श्रेष्ठले पल्सर स्पोर्टस अवार्डमा सर्वाधिक लोकप्रिय खेलाडीको अवार्ड हात पारेकी छिन् ।
नविताले भलिबलकी प्रतिभा माली र फुटबलका नवयुग श्रेष्ठलाई पछाडि पार्दै बिहिबार काठमाडौंमा आयोजना गरिएको १३ औं स्पोर्टस अवार्ड समारोहमा पिपुल्स च्वाइस विधामा बाजी मारेकी हुन् ।
एसएमएस भोट र फेसबुक लाइकका आधारमा १२ औं सागकी कास्य विजेता नविताले पिपुल्स च्वाइस विधामा अवार्ड पाएकी हुन् । कुल २ लाख ८६ हजार ५ सय ५१ भोटमध्ये नविताले १ लाख ५० हजार भोट पाएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
१२ औं सागमा काँस्य नै जितेकी प्रतिभाले १ लाख १६ हजार ६ सय भोट पाइन् भने नेपाललाई दुई दशकपछि फुटबलमा अर्न्तराष्ट्रिय उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका नवयुग श्रेष्ठले भने जम्मा १३ हजार ७५ भोट पाए ।
पिपुल्स च्वाइस विधामा तेस्रो स्थानमा चित्त बुझाएका नवयुग पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए ।
नवयुग फुटबलकै विकेश कुथु, भारत्तोलनका विकास थापा, उसुका राजेश चौधरी र तेक्वान्दोका विरबहादुर महरालाई पछाडि पारेर उत्कृष्ट खेलाडी घोषित भएका हुन् । नवयुगको उत्कृष्ट प्रदर्शनमा नेपालले वंगबन्धु कपको उपाधि र सागमा स्वर्ण जितेको थियो ।
महिलातर्फ जुडोकी फुपुल्हामु खत्री उत्कृष्ट खेलाडी घोषित भइन् । १२ औं सागकी स्वर्ण विजेता फुपुल्हामुले सागकै स्वर्ण विजेता उसुकी निमा घर्तीमगर, ट्रायथलनकी रोजा केसी, तेक्वान्दोकी रेजिना कार्की र पौडीकी गौरिका सिंहलाई पछाडि पारेर उत्कृष्ट खेलाडीको अवार्ड जितेकी हुन् ।
अवार्डवापत नविता, नवयुग र फुपुल्हामुले एक एक वटा पल्सर मोटरसाइकल हात पारे ।
Pulsar Award 2072उत्कृष्ट युवा खेलाडीको अवार्ड भने फुटबल खेलाडी अञ्जन विष्टले जिते । अञ्जन वंगबन्धु कप र सागमा स्वर्ण हात पार्ने टोलीका महत्वपूर्ण सदस्य हुन् । उनले क्रिकेटका सन्दिप लामिछाने, पौडीकी गौरिका सिंह, जुडोकी मनिता श्रेष्ठ र उसुकी निमा घर्तीमगरलाई पछाडि पारेर अवार्ड हात पारे ।
वंगबन्धु कप र १९ वर्ष मुनिको साफ च्याम्पियनसीपको उपाधि दिलाएवापत फुटबलबाटै बालगोपाल महर्जनले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे । बालगोपालले फुटबलकै राजुकाजी शाक्य, उसुका प्रकाश महर्जन, क्रिकेटका जगत टमाटा र जुडोका दलबहादुर गुरुङका पछाडि पारेर अवार्ड हात पारेका हुन्। समारोहमा बालगोपाल भने अनुपस्थित थिए ।
अखिल नेपाल फुटबल संघका दिवंगत कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई मरणोपरान्त स्पेशल अवार्ड प्रदान गरियो भने फुटबल रेफ्रीबाट अवकाश लिएका श्रीराम रञ्जितकारलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइयो ।
पारा एथलिट को अवार्ड सीता भण्डारीले जितेकामा आयोजक खेलकुद पत्रकार मञ्चले राष्ट्रिय फुटबल टिमलाई टिम अफ द इयर घोषित गरेको छ । उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेशल अवार्ड, पारा एललिट र लाइफटाइम अचिभमेन्ट विधाका विजेताहरुलाई ५०/५० हजार रुपैयाँ प्रदान गरिएको छ ।