बागलुङ, ६ साउन/भारतीय दूतावासले ६ महिना अघि धौलागिरि अञ्चल अस्पताल बागलुङलाई दिने भनेको एम्बुलेन्स ढिला गरी प्राप्त भएको छ । गत माघ १२ गते ९२६ जनवरी० मा भारतको ६७ औँ गणतन्त्र दिवसको अवसरमा उपहार स्वरुप अस्पताललाई प्रदान गर्ने घोषणा गरिएको एम्बुलेन्स बुधवार मात्र प्राप्त भएको अस्पतालले जनाएको छ ।
एम्बुलेन्स प्रदान गर्ने घोषणा भएको र चाबी समेत हस्तान्तरण भएको महिनौँ दिन बित्दा पनि एम्बुलेन्स नआउँदा अस्पताल व्यवस्थापन समिति, प्रशासन र सर्वसाधारण नागरिक अचम्मित र निरास बनेको थिए । एम्बुलेन्सको ‘नमुना चाबी’ केही महिना अघि नै हस्तान्तरण भए पनि एम्बुलेन्स नआए पछि स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा समाचार समेत सार्वजनिक भएको थियो ।
अस्पताल विकास समितिका पूर्व अध्यक्ष कृष्णबहादुर केसीले बैशाख महिनामा औपचारिक कार्यक्रम गरेर अस्पताललाई चाबी हस्तान्तरण गरे पनि एम्बुलेन्स नआए पछि केसी, अस्पताल विकास समिति र अस्पताल प्रशासनको आलोचना हुँदै आएको थियो । आफू अस्पतालको अध्यक्ष हुँदा भारतीय दूतावासमा एम्बुलेन्स ल्याउन पहल गरेको एम्बुलेन्सको चाबी पहिले हस्तान्तरण गरिए पनि एम्बुलेन्स भने बुधवार मात्र प्राप्त भएको अस्पताल विकास समितिका पूर्व अध्यक्ष केसीको बताए ।
प्रक्रियागत कारण र अस्पतालले समयै पहल नगर्दा केही ढिलाई भएको पूर्व अध्यक्ष केसीले बताए । डेढ वर्षदेखि अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किएपछि बिरामीहरु ट्याक्सी जिप लगायतका अन्य सवारी साधनमा पोखरा जान बाध्य छन् ।
भारतीय दूतावासले गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न जिल्ला तथा अञ्चल अस्पताल, परोपकारी तथा शैक्षिक संस्थालाई ४० वटा एम्बुलेन्स प्रदान गरेको थियो । दूतावासले गणतन्त्र दिवसमा बर्षेनी नेपाललाई एम्बुलेन्स, बस उपहार दिँदै आएको छ ।
तस्विरः अञ्चल अस्पतालका निर्वतमान अध्यक्ष कृष्ण बहादुर केसीको फेसबुकबाट ।