बागलुङ, ६ साउन/जिल्लाकै सबै भन्दा पुरानो विद्यालय विद्यामन्दिर उमाविको नयाँ भवन निर्माण शुरु भएको छ । बुधवार बिहान आयोजित एक कार्यक्रममा पूर्व राज्य मन्त्री ओमकारप्रसाद गौचनले भवनको शिलान्यास गरे । गतबर्ष भूकम्पले भत्केपछि विद्यालय जोखिममा थियो । नेपाली सेनाको सहयोगमा जीर्ण भवन भत्काएर विद्यालयले ५ करोड रुपैयाँको लागतमा २५ कोठे भवन निर्माण गर्नलागेको हो । साँढे तीन तला रहने उक्त भवनका लागि जिल्ला शिक्षा कार्यालयले ६० लाख रुपैयाँ अनुदान दिएको प्रअ जगन्नाथ आचार्यले बताए । विद्यालयको आफ्नै नियमित आम्दानीको श्रोत नभएकोले महायज्ञ गरेर आर्थिक संकलन गर्ने योजना बनाएको छ । पहिलो चरणमा शिक्षाको बजेट र केही श्रोत जुटाएर काम गर्दै गएपनि दुइ महिना भित्र महायज्ञ आयोजना गरेर आर्थिक संकलन गरिने शिक्षक भीमप्रसाद गौतमले बताए । विसं १९९७ सालमा स्थापना भएको यो विद्यालयले हाल उमावि तर्फ शिक्षा, विज्ञान, व्यवस्थापन र मानविकी संकायमा पढाइ संचालन गर्दै आएको छ । विद्यालयमा हाल सबै संकाय र मावि तहमा गरी १ हजार २ सय ९७ विद्यार्थी अध्ययनरत छन् । उक्त भवन निर्माणका लागि प्रदिप शेरचनले ठेक्का लिइसकेको गौतमले बताए । विद्यामन्दिर उमावि जिल्लाकै जेठो विद्यालय हो । साथै विद्यालयमा खुला विद्यालय अन्र्तगतका झण्डै एकसय विद्यार्थी पनि अध्ययनरत छन् । कम्तिमा ८ कक्षा पास गरेर बसेका उमेर काटेका विद्यार्थीले खुला विद्यालय अध्ययन गरेर एसएलसी परिक्षा दिन पाउने प्रावधान छ । नयाँ शिक्षा ऐनले कक्षा १२लाइ आधारभूत तह मानेपछि खुला विद्यालय अध्ययन गर्नेको प्रावधान के हुने भन्ने यकिन छैन । विद्यालय शिलान्यास कार्यक्रममा आएका पूर्व मन्त्री गौचन बुधवार विहान घाइते भएका छन् । हिलो माटोमा चिप्लेर गौचनको टाउकोमा चोट लागेको छ । उनलाइ सामान्य उपचारपछि काठमाण्डौ पठाइएको छ ।