एक किलो नुन लिन १० हजार

एक किलो नुन किन्न कति लाग्ला? १०, २० कि ३० रुपैयाँ? मुगुको विकट गाउँका बासिन्दा १० हजार रुपैयाँसम्म खर्चिन बाध्य छन्। आजको कान्तिपुरमा खबर छापिएको छ।

अरु गाउँवासीजस्तै किम्री-२का हिस्याआङ्डा तामाङ पनि १० हजार रुपैयाँ खर्चेर एक किलो नुन लिइ सदरमुकामबाट गाउँ फर्कदै छन्। ‘बाटोमा पाँच दिन लाग्यो, ६ दिनसम्म होटलमा बास बसेँ, उनले भने,’ पालो कुरेर एक किलो नुन हात पार्दासम्म १० हजार रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।’ ठूलो रकमको खर्च त छँदैछ, निकै कष्ट भोग्दै विकट गाउँदेखि सदरमुकाम धाएका उनी एक किलो मात्र नुन पाएकोमा आक्रोशित छन्। भन्छन्,’ निकै दुःख गरेर जिल्ला नुन वितरण डिपोमा आइयो, १०/१५ किलो माग्दा पनि पाइएन। एक किलो दिएर पठाए, सकिएपछि फेरि सदरमुकाम दौडनुपर्ने भो।’

साल्ट ट्रेडिङ कम्पनीले सरकारी अनुदानको नुन प्रतिकिलो १० रुपैयाँमा दिने भए पनि पूर्वी करान भेगका बासिन्दा सदरमुकाम धाएर फर्कदा १० हजार हाराहारीमा खर्च हुन्छ। एक महिनामा एक परिवारलाई सरदर १० किलो नुन चाहिन्छ। तर, अभावका कारण अलिनै छाक टार्नुपरेको त्यहाँका बासिन्दाको गुनासो छ।

‘त्यसभेगका लागि भनेर छुट्टै कोटा छैन,अरुलाई जस्तै १/२ किलोसम्म दिएर फर्काउन बाध्य छौ,’ जिल्ला नुन वितरण डिपोका प्रमुख उपेन्द्र ठाकुरले भने। setopati.com