मुस्ताङमा पेस्तोल र गोली सहित पक्राउ परेका चार जना अभियुक्तलाई कारागार चलान गरिएको छ । मार्फा गाविस ९ छैरोमा चोरी गरेको आरोपमा पक्राउ परेका चार जना अभियुक्तलाई जिल्ला अदालत मुस्ताङले मंगलबार थुनछेकका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
अदालतको आदेश अनुसार धादीङको मुरलीभञ्ज्याङ ४ का २३ वर्षिय बिजय लामा, मैदी ४ का २६ वषिय जीवन तामाङ, खरीका ४३ वर्षिय कृष्ण तामाङ र झोलीङ्गा ३ का १९ वर्षिय आकाश तामाङलाई कारागार पठाइएको मुस्ताङका प्रहरी नायव उपरिक्षक गोविन्द भट्टराईले जानकारी दिए ।
चोरीको आरोपमा पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले एक थान पेस्तोल र ७.६२ एमएमको २ थान गोली, २ थान चक्कु समेत बरामद गरेको छ । प्रहरीका अनुसार उनिहरुले मार्फा गाविस ९ छैरोकी डिलमाया थकालीको घरबाट बैशाख १२ गते ल्याप्टप, सुनको माडवरी, मोवाईल र नगद गरि ७२ हजार रुपैया मूल्य बराबरको धनमाल लुटपाट गरेका थिए ।
घटनामा संलग्न थप एक जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । चार जनालाई बैशाख १४ गतेनै पक्राउ गरिएको थियो । प्रहरीका अनुसार उनिहरुमाथि लुटपाट र अवैध हातहतियार तथा खरखजाना सम्बन्धि मुद्दा दायर गरिएको छ । सन्तोष गौतम