इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इण्डियन्सले तेस्रो जित हात पारेको छ । आफ्नो नवौं खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको हो ।
हैदराबादले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य मुम्बईले लेन्डल सिमन्स र अम्बाटी रायडूको अर्धशतकको मदतमा १९ औं ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । मुम्बईको सुरुवात भने राम्रो थिएन । मुम्बईको स्कोर दुई रन हुँदा चिदम्बरम गौतम व्यक्तिगत एक रनमा आउट भए ।
तर, सिमन्स र रायडूले पारी सम्हाले । सिमन्स र रायडूले दोस्रो विकेटका लागि १ सय ३१ रनको साझेदारी गरे । दुबैले समान ६८÷६८ रन बनाए । १६ औं ओभरमा सिमन्स भुवनेश्वर कुमारको बलमा बोल्ड भए भने १७ औं ओभरमा १४१ स्कोरमा हेनरिक्सले रायडूलाई पभेलियनको बाटो देखाए ।
मुम्बईलाई जितका लागि १८ बलमा १६ रन चाहिएको थियो । कप्तान रोहित शर्मा र किरन पोलार्डले सहज रुपमा मुम्बईलाई जित दिलाए । शर्मा १४ र पोलार्ड ६ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिले व्याटिङ थालेको हैदराबादले २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो । कप्तान शिखर धवन छिट्टै आउट भए । उनी ११ रनमा पभेलियन फर्किए । एरोन फिल्चले ६२ बलमा ६८ रन बनाए । लोकेश राहुल पनि टिक्न सकेनन् । उनी १० रन बनाएर रन आउट भए ।
त्यसपछि डेभिड वार्नरले आकर्षक पारी खेल्दै ३१ ब्लमा ५५ रन बनाए । उनले फिन्चसँग तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गरे ।