खरले छाएको झुपडीमा कक्षा सञ्चालन हुदै आएको म्याग्दीको बाबियाचौर गाविस ९ हिदीमा रहेको बालकल्याण प्राविमा नयाँ भवन निर्माण भएपछि अभिभावक र विद्यार्थीले बाजागाजा सहित नाचगान गरेर खुसीयाली मनाएका छन् ।
२०६७ सालमा स्थापना भएको कक्षा ३ सम्मको पठनपाठन हुने विद्यालयको एक वटा कक्षा झुपडीमा सञ्चालन हुँदै आएकोमा नयाँ भवन निर्माण भएपछि अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीयबासीले खुसीयाली मनाएका हुन् । जिल्ला शिक्षा कार्यालयको ७ लाख ५० हजार रुपैयाको सहयोगमा निर्माण भएको २ कोठे उक्त भवनको शनिबार म्याग्दीका जिल्ला शिक्षा अधिकारी बिष्णुनारायण श्रेष्ठले उद्घाटन गरे ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै जिशिअ श्रेष्ठले शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकको योजनावद्ध सक्रियताले विद्यालयको शैक्षिक एवं भौतिक पुर्वाधार विकासमा परिवर्तन आउने उदाहरण बालकल्याण प्राबि बनेको उल्लेख गरेका थिए ।
जिशिअ श्रेष्ठले तथ्याङ्क अद्यावधिक गरेर दरबन्दि मिलानलाई निरन्तरता दिने तयारी भएको जानकारी दिदै बालमैत्री र सिकाई उपलब्धी बृद्धीका लागि केन्द्रित शिक्षण बिधिले शैक्षिक गुणस्तर हाँसील गर्न मद्दत पुग्ने बताए । कार्यक्रममा बोल्दै मंगला उच्च मावि स्रोत केन्द्रका स्रोत व्यक्ति डेगबहादुर बानियाले यसअघि भवन अभावमा झुपडीमा कक्षा सञ्चालन हुने गरेको विद्यालयमा नयाँ भवन बनेपछि पठनपाठनमा सहज हुने अपेक्षा व्यक्त गरे ।
यसैगरी प्रगति प्राबिका अध्यक्ष कुलबहादुर पुन, सति प्राबिका अध्यक्ष एवं विद्यालयका चन्दादाता श्रीप्रसाद रोका, ज्ञानोदय प्राबिका अध्यक्ष धनबहादुर खाती र सिद्धशान्ति मावि हिदीका प्रअ हुमनाथ पाण्डेले दुर्गम क्षेत्रका सामुदायीक विद्यालयको दरबन्दि र भौतिक पुर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने बताए ।
बालकल्याण प्राबिका अध्यक्ष बेलबहादुर बिकको अध्यक्षता, प्रअ बेलबहादुर बिकको सञ्चालन र शिक्षक अभिभावक संघका अध्यक्ष बमबहादुर पुन, भवन निर्माण समितिका अध्यक्ष पकबहादुर पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य एवं स्थानीय नौमती समुहले बाजा बजाएर खुसीयाली मनाएका थिए ।
फाईल तस्विर बेनीअनलाइन
गत वर्ष जिल्ला शिक्षा कार्यालयको २ लाख रुपैया सहयोगमा छात्रामैत्री शौचालय निर्माण गरिएको विद्यालयमा यस वर्ष जिल्ला शिक्षा कार्यालयको पुर्वाधार विकास कार्यक्रम अन्तरगत सबैभन्दा पहिले भवन निर्माण भएको कार्यालयका सब ईञ्जिनियर शंकर सुवेदीले बताए ।
सन्तोष गौतम