देशकै एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यातायातको सुविधा पुगेको छ । सदरमुकामदेखि ४५ कोष पश्चिममा अवस्थित ढोरपाटन उपत्यकामा मोटर पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।
सदरमुकामदेखि चार दिनको पैदल दुरीमा पुग्न सकिने ढोरपाटन क्षेत्रमा अब एकदिनको मोटरयात्राबाट पुग्न सकिने जनाइएको छ । सदरमुकामदेखि बोवाङसम्म यसअघि नै सडक सञ्जाल जोडिए पनि ढोरपाटन उपत्यकासम्म पुग्न सकेको थिएन । शुक्रबार जिल्लाको पश्चिम व्यापारिक केन्द्र बुर्तिवाङदेखि अधिकारीचौर, बोवाङ, देउरालीखोंच हुँदै ढोरपाटन उपत्यकाको उत्तरगङ्गा तथा सानी भेरी नदी पार गरेको जिपका चालकलाई स्थानीयवासीले फूलमालाले स्वागत गरेका थिए ।
करिव पाँच वर्षयता बुर्तिबाङ हुँदै अधिकारीचौर, बोबाङ, ढोरपाटनसम्मको सडक निर्माणमा सडक डिभिजन कार्यालय, जिल्ला विकास समिति तथा स्थानीय गाउँ विकास समितिको बजेट खर्च गरिएको थियो ।
म्याग्दी, रुकुम र बागलुङ गरी तीन जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ढोरपाटन सिकार आरक्ष क्षेत्रलाई उच्च भागमा रहेको उपत्यकाको रुपमा समेत चिनिदै आएको छ । बर्सेनि दुई याममा सञ्चालन हुने सिकारका लागि विदेशी पर्यटक यसअघि हेलिकप्टरबाट मात्र पुग्ने गर्दथे भने अब मोटर चढेरै आरक्ष पुग्न सक्नेछन् ।
देशकै एकमात्र सिकार आरक्ष भएको क्षेत्र भएका कारण पनि ढोरपाटन क्षेत्र आगन्तुकका लागि आर्कषण बन्ने गरेको छ । भौगोलिक, प्राकृतिक, जैविक र सांस्कृतिक हिसावले समेत मनोरम उपत्यकाको रुपमा परिचित ढोरपाटन सिकार खेल्न आउने विदेशी सिकारीले बर्सेनि लाखौँ रुपैयाँ राजस्व बुझाउने गरेका छन्