यही वैशाख ३१ गतेबाट स्थानीय फाप्ला मैदानमा सुरु हुन लागेको एनपिएल (नेपाल प्रिमियर लिग) क्रिकेट प्रतियोगताको तयारी अन्तिम चरणमा पुगेको छ।
क्रिकेट प्रतियोगिता सञ्चालनका लागि स्थानीय मोहना नदी छेउको फाप्ला चौरलाई क्रिकेट मैदानको रुपमा विकास गरिएको छ।
धनगढी नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी तथा खेलप्रेमीको संयुक्त प्रयासमा यो मैदान निर्माण गरिएको हो।
नेपाल क्रिकेट सङ्घको आयोजनामा नेपालमै पहिलोपटक हुन लागेको यो प्रतियोगितामा देशका विभिन्न छ टिमबीच प्रतिस्पर्धा हुने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभास शाहीले बताए।
प्रतियोगितामा विशाल वारियर, सगरमाथा लिजेन्ट, कलर एक्सफ्याक्टर, पञ्चकन्या तेज, कान्तिपुर गोरखाज र जगदम्बा जाइन्स टिमबीच प्रतिस्पर्धा हुने शाहीले बताए ।यी टिमहरुको कप्तानी क्रमशः नेपाली राष्ट्रिय टिमका खेलाडीहरु पारश खड्का, विनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, सरद भेषवाकर, वसन्त रेग्मी र शक्ति गौचनले गर्नेछन् ।
यसैबीच फाप्ला मैदानसम्म दर्शकको आवागमनको व्यवस्था सहज बनाउन सुदूरपश्चिम यातायात व्यवसायी सङ्घले बस सेवा सञ्चालनको तयारीसमेत गरेको छ। यसका लागि केही दिनअघि सुदूरपश्चिम यातायात व्यवसायी सङ्घ र धनगढी क्रिकेट एकेडेमीबीच बस सेवा सञ्चालनसम्बन्धी सहमति भएको छ। रासस