जनमैत्री संविधान बन्नुपर्छ– गिरी

संविधानसभाका सभासद ममता गिरीले देशमा अब बन्ने संविधान नेपाली जताको पक्षमा बन्नुपर्ने र त्यो जनमैत्री हुनुपर्ने बताएकी छिन् । उनले अन्तरपार्टी महिला सञ्जाल म्याग्दीले सदरमुकाम बेनीमा आयोजना गरेको स्थानीय निकायमा समानुपातिक प्रतिनिधित्व अभिमुखीकरण कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।

उनले संविधानसभाले आफ्नो कार्यतालिका पारित गरिसकेको र समितिहरु गठन भई पूर्णता पाएर काम सुरु गरेकाले एक वर्षभित्र संविधान जारी हुने बताइन् । सभासद गिरीले आगामी माघ ८ गते देश र नेपाली जनताले आफ्नो पूर्ण अधिकारसहितको संविधान पाउने विश्वास व्यक्त गरेकी छिन् ।

उनले संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीलगायतका विषयमा सहमति हुन बाँकी रहेपनि अधिकांश विषय टुङ्गो लागिसकेकाले त्यसलाई सबै दलहरुको सहमतिमा पूर्णता दिने धारणा राखेकी छिन् । संविधान बनाउने विषयमा कुनै बाधा व्यवधान आएमा त्यसमा सकभर सहमति गरिने र नभए बहुमतले निर्णय गरी कार्यान्वयन गरिने उनको भनाई थियो ।

‘जनताको अभिमत अनुसार जनमत संग्रहबाट भए पनि संविधान बन्छ’ उनले भनिन् । २०६२÷६३ को जनआन्दोलनमा महिलाहरुले उल्लेख्य योगदान गरेको भन्दै उनले थपिन्– ‘गणतन्त्र स्थापना भैसकेकाले अब त्यसलाई संस्थागत गर्नुपर्छ’ । सबै नीतिको मुख्य नीति राजनीति भएकाले त्यसमा महिलालाई पनि मुख्य ठाउँ दिनुपर्ने भन्दै हिँजोको तुलनामा आज महिलाहरुको सबै क्षेत्रमा विस्तारै पहुँच बढ्दै गएको सभासद गिरीको दावी छ । महिलाहरु जबसम्म आर्थिक रुपमा सक्षम हुन सक्दैनन् तबसम्म अगाडि बढ्न नसक्ने हुँदा आर्थिक सशक्तिकरण गर्नुपर्ने उनले औंल्याएकी छिन् ।

अन्तरपार्टी महिला सञ्जालको केन्द्रीय सदस्य समेत रहेकी उनले सञ्जालले महिलाको हक अधिकारको पक्षमा निरन्तर वकालत गर्दै आइरहेको बताएकी छिन् । देशका ७५ ओटै जिल्लामा सञ्जाल गठन भई सञ्जालले चेतनामूलक कार्यक्रम गरिरहेको बताउँदै उनले अब गाउँगाउँमा सञ्जालको शाखा विस्तार गर्नुपर्नेमा जोड दिएकी छिन् ।
???????????????????????????????
सोही कार्यक्रममा बोल्दै अर्का सभासद सीता महतले सञ्जालले देशको सिमाना मिचिँदाका बखत आन्दोलन गरेको भन्दै गाउँ र जिल्लास्तरमा महिलासँग सम्बन्धित सचेतनामूलक अभियानहरु सञ्चालन गर्नुपर्ने बताइन् । अन्तरपार्टी महिला सञ्जालको केन्द्रीय सदस्य समेत रहेकी महतले सञ्जालको परिचयसहित कार्यक्रमको बारेमा प्रकाश पारेकी थिइन् ।

निमित्त प्रमुख जिल्ला अधिकारी तुल्सीराम भण्डारीले अन्तरपार्टी महिला सञ्जाल सबै पार्टीसम्बद्ध महिलाहरुको सञ्जाल भएकाले यसले उनीहरुको हक अधिकारको पक्षमा लड्न सहयोग पु¥याउने बताए । उनले सरकारले हालै देशमा नयाँ नगरपालिका घोषणा गरेकाले त्यसको चुनावमा महिलाको सहभागीता हुने बताएका थिए ।
???????????????????????????????
कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सभापति रेशमबहादुर बानियाँ, नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एमाओवादी म्याग्दीका सदस्य सुवास विक, नेकपा–माओवादी म्याग्दीका सेक्रेटरी ध्रुव घिमिरे र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिव विरबहादुर थापाले राजनीतिक प्रतिबद्धता जाहेर गरेका थिए । जिल्ला विकास समिति म्याग्दीका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले स्थानीय निकाय प्रतिबद्धता जाहेर गरेका थिएभने पत्रकार महासंघ म्याग्दी शाखाका कोषाध्यक्ष मालती खत्रीले मन्तव्य राखेकी थिइन् ।

अभिमुखीकरणमा सञ्जालका सचिव सृजना श्रेष्ठले महिलाहरुको अधिकारसहितको मागपत्र र कोषाध्यक्ष लिलामाया सिँजालीले महिलामाथि हुने हिंसा, हत्या, बलात्कार अन्त्यका लागि दलहरुको घोषणापत्र प्रस्तुत गरेका थिए । जिल्लास्थित विभिन्न पार्टीका ३० जना महिलाहरु सहभागी कार्यक्रम सञ्जालका उपाध्यक्ष सञ्जु बरुवालको अध्यक्षता, सचिव सिर्जना श्रेष्ठको सञ्चालन र सदस्य उसा घर्ती घिमिरेको स्वागतमा सम्पन्न भएको थियो ।
प्रताप बानियाँ