म्याग्दीमा खानेपानीको पहुँचका लागि १५ करोडको परियोजना सुरु

म्याग्दीबासीको खानेपानी र सरसफाईमा पहुँच बढाउन १५ करोड रुपैयाको परियोजना सुरु भएको छ । फिनल्याड सरकारको सहयोगमा जिविस म्याग्दी अन्तरगत दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना सुरु भएको हो ।

आगामी २०७४ सालसम्म सञ्चालन हुने परियोजना मार्फत पहिलो चरणमा ६ वटा गाबिसमा खानेपानी योजना निर्माण एवं ४१ वटै गाविसमा जिल्ला व्यापी रुपमा सरसफाईका लागि खुला दिसामुक्त क्षेत्र घोषणाको दिगो कार्यान्वयन तथा पूर्ण आनीवानी परिवर्तन सम्बन्धि कार्यक्रम सञ्चालन गरिने भएको छ ।

यसअघि २०६६ देखि २०७० सम्म सञ्चालन भएको पहिलो चरणको उक्त आयोजना अन्तरगत चार करोड रुपैयाको लागतमा भकिम्ली, दाना, अर्मन, दरवाङ, दग्नाम र रुम गाविसमा ६४ वटा खानेपानी आयोजना निर्माण हुनुका साथै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । यसैगरी दाना गाविसलाई नेपालकै पहिलो पूर्ण आनीवानी परिवर्तनयुक्त गाबिस घोषणा गरिएको थियो ।

दोस्रो चरणको परियोजना अन्तरगत पहिलो चरणमा मुना, बिम, मराङ, ज्यामरुककोट, ओखरबोट र पाखापानी गाबिसका सतप्रतिशत शुद्ध खानेपानी सुबिधाका लागि योजनाहरु सञ्चालन गरिने स्थानीय बिकास अधिकारी बिष्णुप्रसाद शर्माले जानकारी दिए । स्थानीय विकास अधिकारी शर्माका अनुसार खानेपानी योजना निर्माणका साथै जिल्लाव्यापी सरसफाईलाई प्रर्वद्धन गर्न सञ्चालित परियोजनाका लागि १५ करोड बजेट खर्च हुने भएको छ ।

परियोजना मार्फत खुला दिसामुक्त क्षेत्रलाई दिगोपना बनाउँदै सुरक्षित खानेपानी वितरण एवं स्थानीय निकायको क्षमत्ता विकासका लागि सहयोग गरिने परियोजनाका जिल्ला सल्लाहकार भिम मोक्तानले बताए । जिविसका अनुसार एक लाख १३ हजार जनसंख्याले बसोबास गर्ने म्याग्दी जिल्लाका ११ प्रतिशत बासिन्दा अझै सुरक्षित खानेपानी सुबिधाबाट बञ्चित छन् ।

सतप्रतिशत बासिन्दामा खानेपानी पहुँच पु¥याउन २४ करोड रुपैया लगानी आवश्यक पर्ने देखिएको छ । समयमै सन्तोषजकन कार्य सम्पादन भएमा परियोजना मार्फत बजेट थप हुने भएकाले सतप्रतिशत बासिन्दामा सुरक्षित खानेपानीको पहुँच पुराउन सहयोग मिल्ने स्थानीय विकास अधिकारी शर्माले बताए । सन्तोष गौतम