म्याग्दी अस्पतालमा शल्यक्रिया मार्फत प्रसुति सेवा सुरु गर्ने तयारी

जिल्ला अस्पताल बेनीमा शल्यक्रिया मार्फत गरिने प्रसुति सेवा सुरु गर्ने तयारी भएको छ । आगामी जेठ महिनाको मध्यबाट म्याग्दी जिल्लामै पहिलोपटक जिल्ला अस्पताल बेनीमा शल्यक्रिया गरेर प्रसुती गराउने सेवा सुरु गर्ने तयारी भएको हो ।

उक्त सेवा सुरु भएपछि अप्रेशन गरेर बच्चा जन्माउनका लागि बागलुङ, पोखरा लगायतका शहरमा पुग्नुपर्ने बाध्यताबाट जिल्लाका गर्भवतीहरुले मुक्ति पाउने छन् । २४ सै घण्टा आकस्मीक प्रसुती सेवा दिनका लागि आवश्यक उपकरण र जनशक्तिको व्यवस्था भइसकेको बिहीबार बेनीमा जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको कार्यक्रममा जिल्ला अस्पताल म्याग्दीका डाक्टर सन्देश पन्तले जानकारी दिए ।

उक्त सेवा सञ्चालनका लागि अस्पताल परिसरमा रहेका ४ वटा कोठे भवनलाई प्रयोग गरिने भएको छ । भवनलाई व्यवस्थित गरेपछि सेवा सुरु गरिने अस्पतालले जनाएको छ । बेनीमा आकस्मिक प्रसुति सेवा सुरु भएपछि मातृ शिशू मृत्युदरमा कमी आउनुका साथै सुरक्षित प्रसुती सेवा उपभोगका लागि गर्भवतीहरुलाई सहज हुने अपेक्षा गरिएको अस्पतालकी पब्लीक हेल्थ नर्स रत्ना खड्काले बताईन ।

डा. पन्तका अनुसार म्याग्दी जिल्लामा वार्षिक तीन हजार ५९ जनाको अनुपातमा महिलाहरु गर्भवती हुने गरेकोमा १३२ जनाको अप्रेशन गरेर बच्चा निकाल्नुपर्ने समस्या आउने गरेको छ । वार्षिक रुपमा ३९५ जना महिलाको प्रसुती सम्बन्धि जटिलता उत्पन्न हुने गरेकोमा अन्य अस्पतालमा रिफर गर्दा बाटोमा नै ज्यान जान सक्ने खतराका साथै समय र आर्थिक खर्च हुने भएकाले जिल्लामै आकस्मिक प्रसुती सेवा सञ्चालन गर्न लागिएको डाक्टर पन्तले बताए ।

आकस्मिक प्रसुती सेवाको विषयमा सरोकारवालाहरुलाई जानकारी गराइएको उक्त कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, कार्यालय प्रमुख, सदरमुकाम आसपासका गाविसका महिला स्वास्थ्य स्वमसेवीका, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो । जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपानेको अध्यक्षता र क्षय कुष्ठ निरिक्षक रामबहादुर नेपालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा डाक्टर सन्देश पन्त, पब्लिक हेल्थ नर्स रत्ना खड्का, खोप सुपरभाईजर एकनारायण लम्साल लगायतले सहजिकरण गरिएको थियो । सन्तोष गौतम