रेडक्रस दिवसको अवसरमा कविता प्रतियोगिता

प्रताप बानियाँ

१५२औं विश्व रेडक्रस स्थापना दिवसको अवसर पारेर बिहीबार पौलस्त्य उच्च मावि भिरमुनीमा रेडक्रससम्बन्धी कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको औपचारिक शिक्षाको साथसाथै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने उद्देश्यले कविता प्रतियोगिताको आयोजना गरिएको हो ।

जुनियर रेडक्रस सर्कल पौलस्त्य उच्च मावि भिरमुनी र नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको संयुक्त आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको छ । आयोजक विद्यालय र जनकल्याण मावि पुलाचौरका गरी कुल ९ जना विद्यार्थीहरुले प्रतियोगितामा सहभागीता जनाएका थिए ।
DSC01180
प्रतियोगिताबाट जनकल्याण मावि पुलाचौरका प्रवेश बानियाँ प्रथम, दिपेश सुवेदी द्वितीय र विष्णु बानियाँ तृतीय भएका छन्भने पौलस्त्य उच्च माविका ममता परियार सान्त्वना भएकी छिन् । उनीहरुलाई क्रमशः नगद चारसय, तीनसय, दुईसय र एकसय तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रेडक्रस म्याग्दी शाखाका सभापति लेखबहादुर हमालले रेडक्रसकर्मीले आपतविपद्मा परेका सबैलाई मानवीय नाताले सहयोग गर्नुपर्ने बताए । उनले रेडक्रसको मान्यता सेवा नै धर्म भएकाले स्वतन्त्र रुपमा सबै रेडक्रसमा लाग्नुपर्ने बताएका थिए ।

विशिष्ट अतिथि पुलाचौर गाविसका सचिव यज्ञबहादुर कार्कीले रेडक्रस एउटा सामाजिक सेवा प्रदान गर्ने पवित्र संस्था भएको बताउँदै दिवसीय कार्यक्रमले विद्यार्थीमा प्रतिस्पर्धाको भावना उत्पन्न गराउने बताए । उनले उपशाखालाई गाविसबाट आवश्यक सहयोग दिँदै आएको समेत बताएका थिए ।

सोही कार्यक्रममा बोल्दै उच्च मावि प्राचार्य प्रेमबहादुर बानियाँले कविता प्रतियोगिता कार्यक्रमले विद्यालयको गरिमालाई पनि बढाएकाले यस्ता कार्यक्रमहरु निरन्तर हुनुपर्ने बताएका थिए । उनले विद्यार्थीहरुमा प्रतियोगिताले प्रतिभा प्रस्फुटन गर्नुका साथसाथै क्षमताको अभिवृद्धि गर्ने बताए ।
DSC01219
कार्यक्रममा उपशाखा संस्थापक सुर्यप्रकाश बानियाँ, यामबहादुर केसी, उपसभापति शिव बानियाँ, कोषाध्यक्ष हेमबहादुर खत्री, सदस्य गोविन्द बानियाँ, कम्युनिटी सपोर्ट ग्रुप म्याग्दीका बाह्य परिचालक हिरा जिसी (बानियाँ) र आजीवन सदस्य प्रताप बानियाँले मन्तव्यले राखेका थिए ।

उपशाखा सभापति यामबहादुर बानियाँको अध्यक्षता, सचिव रेशम बानियाँको सञ्चालन र विद्यालयका शिक्षक नायक सुरत बानियाँको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

स्थापना दिवसमा संस्थापकहरु सम्मानित

नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाले बिहीबार शाखाका संस्थापकहरुलाई सम्मान गरेको छ । उपशाखाद्धारा १५२औं विश्व रेडक्रस स्थापना दिवसको अवसर पारेर तत्कालीन समयमा रेडक्रसको शाखा स्थापनामा सहयोग गर्नेहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा २०६० सालमा स्थापना गर्दा तदर्थ समितिमा बसेर उपशाखालाई महत्वपूर्ण सहयोग पु¥याउने विभिन्न ९ जना संस्थापकहरुलाई सम्मान गरिएको छ । संस्थापकहरुलाई सम्मान गर्दै प्रमुख अतिथि रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमालले सबैलाई मानवीय सेवाको भावना बोकेको रेडक्रस संस्थामा आबद्ध हुन सुझाव दिएका छन् ।

सम्मानित हुनेहरुमा सुर्यप्रकाश बानियाँ, यामबहादुर केसी, हेमबहादुर खत्री, शिव बानियाँ, यामबहादुर बानियाँ, अमर बानियाँ, दिनेश बानियाँ, पूर्णबहादुर बानियाँ र कुलबहादुर खत्री रहेका छन् । उनीहरुलाई खादा ओढाएर प्रमाणपत्रले सम्मान गरिएको थियो । हाल पुलाचौर उपशाखामा मात्रै १ सय ६२ जना आजीवन सदस्यहरु रहेका छन् ।
Samman
सोही अवसरमा उपशाखाबाट रेडक्रसको नयाँ आजीवन सदस्यता लिएका विभिन्न ४ जनालाई आजीवन सदस्यता प्रमाणपत्र समेत वितरण गरिएको छ । सोही अवसरमा पौलस्त्य उच्च मावि भिरमुनीले विद्यालयका अभिभावक तथा चन्दादाता सुर्यप्रकाश बानियाँलाई सम्मान गरेको छ ।

२०७० साललाई विद्यालयले आर्थिक सङ्कलन अभियानको वर्षको रुपमा घोषणा गरेको उनले एकलाख ११ हजार एकसय ५५ रुपैयाँ विद्यालयको शैक्षिक विकासका लागि सहयोग गरेका थिए । उनलाई विद्यालय व्यवस्थापन समितिका सदस्य गोविन्द बानियाँ र प्राचार्य प्रेमबहादुर बानियाँले खादा र टिका लगाई प्रमाणपत्रले सम्मान गरेका हुन् ।