म्याग्दीको दरवाङमा नदीले बगाएर ल्याएको मृगलाई स्थानीयवासीले जीवितै उद्धार गरेर वन कार्यालयलाई बुझाएका छन् । म्याग्दी नदीमा बगिरहेको अवस्थामा रतुवा मृगलाई मङ्गलबार नदीबाट उद्धार गरी स्थानीयवासीले इलाका वन कार्यालय दरवाङलाई जिम्मा लगाएका हुन् । करिब डेढ वर्ष उमेरको १५ किलोग्राम तौल भएको भाले मृगलाई मङ्गलबार नै जङ्गलमा लगेर छाडेको इलाका वन कार्यालय दरवाङका रेञ्जर प्रकाश बस्नेतले जानकारी दिए ।
उनका अनुसार पशु स्वास्थ्य प्राविधिकद्वारा स्वास्थ्य परीक्षण र उपचार गरी प्रहरीको रोहवरमा बिमको रातोभिर सामुदायिक वनमा लगेर मृगलाई छाडिएको हो । पछिल्लो समय म्याग्दीमा मृगलगायत जङ्गली जनावर मानव बस्ती छेउछाउ देखिन थालेका छन् ।
संरक्षण अभियान र जनचेतना अभिवृद्धिसँगै जङ्गली जनावर बढेका कारण बस्ती छेउछाउ आउन थालेका स्थानीयवासीको भनाइ छ । गत चैत महिनामा दरवाङकै छिमेकी गाविस देवीस्थानमा मृग मारेको अभियोगमा पक्राउ परेका पाँचजनालाई रु २८ हजारका दरले धरौटी तिरेर छुटेका थिए । बस्तीमा आएको मृगलाई मारेका कारण कानुनी कारबाही भोगेको जानकारी पाएपछि स्थानीय सचेत बन्न थालेको वन कर्मचारीको भनाइ छ । रासस
तस्विर मुक्ति पौडेल ÷ दरबाङ