को हुन् हङकङका असली निर्माता ?

राजेश राई

कवि ब्रेख्तले लेखेका छन्-

सात द्वारहरू भएको थिब्ज नगर बनायो कसले ?

पुस्तकमा त लेखिएको हुन्छ राजाहरूको नाम

के ती राजाहरूले उचालेका थिए चट्टानका विशाल डल्लाहरू ?

र, धेरैपटक ध्वस्त पारिएको बेबिलोनलाई

कसले ठड्याएको थियो त्यति धेरैपटक ?

स्वर्णपुरी लिमाका कुन घरहरूमा बस्थे निर्माताहरू ?

चीनको विशाल पर्खाल बनाइसकिएको साँझ

कता गएका थिए कर्मीहरू ?

महान रोम भरिपूर्ण छ विजयका तोरणद्वारहरूले

कसले बनाएका थिए ती तोरणहरू ?

कसमाथि विजय हासिल गर्‍यो सिजरले ?

हङकङको अन्तर्राष्ट्रिय विमानस्थल चेकलाप कोकमा पुग्दा म निकै रोमाञ्चित भएँ । बि्रटिस गोरखा भूतपूर्व सैनिक संगठनको निम्तो मान्न गेसोका सभापति पदमबहादुर गुरुङसँग पहिलोपटक हङकङ पुगेको थिएँ ।

भव्य विमानस्थल देखेर सभापतिज्यूलाई सोधेँ, ‘अहो ! कस्तो भव्य रहेछ, बि्रटिसले नै बनाएको होइन ?’ ‘हो’, उहाँको उत्तर थियो, ‘बि्रटिसले छाडेर जाने बेला बनाएर गएको हो ।’

रातको निद्राको बोझ भए पनि भव्य विमानस्थलको भव्यताले मन चङ्गा बनाइरहेको थियो । चङ्गा मेरो मन अध्यागमनको चेकचाँचमा पुगेपछि चाहिँ भरङ्ग भयो । मेरो लहरमा बसेकामध्ये एकजना बंगालदेशी बाहेक सबै बि्रटिस नागरिक थिए । उनीहरूलाई राहदानी मात्रै हेरेर सरासर अध्यागमन पास दिए । कुन्नि के कारणले हो ? बंगालदेशका नागरिकलाई त्यहीँबाट फिर्ता पठाइयो । कता पठाइयो, त्यो चाहिँ थाहा भएन । पालो आयो मेरो । मेरै जस्ता गोलो अनुहार र थेप्चो नाक भएका अध्यागमनको अधिकारीले निधार खुम्चाउँदै मलाई केरकार सुरु गर्‍यो । मेरो जवाफले तिनको चित्त बुझेन क्यारे । अध्यागमनका उच्च अधिकारीकहाँ पठाइयो । करीब आधा घन्टा यस्तरी केरकार गर्‍यो कि मानौँ म अपराधी हुँ ।

hong-kong-1

केरकारपछि छोड्दा जेलबाट छोडेजस्तै अनुभूति भयो । झिलीमिली शहरमा मेरो मन अमिलो भयो, अरुको अनुहार पनि धमिलो देखेँ ।

हामीलाई लिन आउनुभएका गोरखा भूतपूर्व सैनिक संगठनका सचिव ईश्वर गुरुङ र राम तामाङले बाहिर कुरिरहनुभएको रहेछ । ईश्वर मामालाई अध्यागमनमा पाएको दुःख सुनाएँ । उहाँको सहज प्रष्टीकरण थियो, ‘भान्जा, यो सब हामी नेपालीहरूकै कारण हो । नेपालीहरूले फटयाइँ गरेपछि निगरानी बढाएको छ, तपाइँ पनि त्यही घानमा पर्नुभयो ।’

हङकङ जानुअघि अनलाइनमा एउटा रिपोर्ट पढेको थिएँ । त्यो रिपोर्ट भन्छ, ‘विकसित राष्ट्रहरूले नेपाली प्रवेशमा कडा निगरानी बढाएका छन्, अवैधरुपमा प्रवेश गरेका नेपालीहरूको कारण समस्या भएपछि यस्तो कडाइ गरिएको हो ।’ ‘बर्मा गयो, कर्मसँगै’ भनेझै कर्म बदल्न सात समुद्र पारि गएकाहरूले नेपाली काइदा नछोड्दा कहिलेकाहीँ जाने हामीजस्तालाई पनि बेफाइदा हुन्छ क्यारे । चेकलाप कोकमा पाएको सास्तीपछि मनमा प्रश्न उठयो, ‘हङकङमा गोरखाहरूले बनाएको पुरानो वैभव कसले भत्काउँदैछ ?’ सायद, यो मेरो मनभित्रको उत्तेजना मात्रै होइन, गोरखालीहरूको चिन्ता पनि होला कि !

गोरखालीको यो साइनो

बाटोमा जाँदै गर्दा ईश्वर मामाले चेकलाप कोक निर्माणमा गोरखालीहरूको सहभागिता र सहयोग बारे बताउनुभयो । उहाँको कुरा सुनेर गर्व लाग्यो, ‘त्यो भव्य विमानस्थलका भित्ताहरू हाम्रा सयौँ गोरखालीहरूले पनि छोएका रहेछन् । त्यहाँ प्रयोग भएका सिमेन्ट, इँटा र ढुङ्गाहरू हाम्रा गोरखालीहरूले पनि उचालेका रहेछन् ।’ प्रसिद्ध कवि बर्तोल ब्रेख्त ‘एक पठित मजदुरको प्रश्न’ शीर्षकको कविताले सही भनेको रहेछ ।

ब्रेख्तले कविता सोधेजस्तै हामी सोध्न सक्छौँ, ‘कसले बनायो यो भव्य विमानस्थल ? पुस्तकमा लेखिएको छ, ब्रिटिस राजाहरूको नाम, के ती राजाहरूले उचालेका थिए चट्टानका विशाल डल्लाहरू ? हो, ती डल्लाहरू उठाउने गोरखाली नै थिए । असली निर्माता गोरखाली थिए ।

गोरखाहरूका लागि हङकङ कुनै विरानो प्रदेश होइन । त्यहाँका प्रत्येक ढुङ्गा माटोहरूलाई गोरखालीका हातहरू छोएका छन् । यदि ढुङ्गामाटो बोल्दो हो त यो दाबी प्रस्तुत गरिरहनु नपर्ने हुन्थ्यो होला । त्यहाँका ढुङ्गामाटोका सबैभन्दा प्रिय गोरखाली नै बन्ने थिए ।

हङकङसँग गोरखालीहरूको कति धेरै भावनात्मक साइनो र सम्बन्ध रहेछ ? भन्ने कुरा मैले भूपू सैनिकहरूसँग पुराना ब्रिटिस गोरखा क्याम्प र सीमा क्षेत्र घुमिरहँदा अनुभूति गरें । गेसोका केन्द्रीय सदस्य तथा हङकङ इन्चार्ज मणि किरात बान्तावा र बि्रटिस गोरखा भूतपूर्व सैनिक संगठनका सह-सचिवसँग ४ अप्रिलमा गोरखाहरूको पुरानो तालिम केन्द्र सेकोङ गयौँ । कुनै बेला ‘ब्रिगेड अफ गोरखाज्’ मुख्यालय तथा तालिम केन्द्र रहेको यो सेकोङ ब्यारेक गोरखाहरूको ऐतिहासिक थलो हो ।

Hong-Kong-International-Air

खासगरी पूर्वी एसिया मलाया, बोर्नियो र ब्रुनाइको युद्धको करिब-करिब अन्त्य भएपछि बि्रगेड अफ गोरखाज्लाई सुङ्गइ पटनीबाट हङकङको सेकोङमा सारिएको थियो । बि्रटिसले पूर्वी एसियामा उठिरहेको कम्युनिष्टहरूको विद्रोहलाई दबाउन गोरखालीहरूको प्रयोग गरेका थिए । उसले मलेसिया र इण्डोनेसियाको लागि युद्ध लड्ने ठेक्का लिएको थियो । यो ठेकेदारीबाट उसले अरबाैं पाउण्ड कमायो । त्यसबेला गोरखालीहरूलाई लड्न पठाएबापत प्रतिगोरखा सिपाही ४ सय ५० मलेसियन डलर लिएर गोरखालीहरूलाई ४३ डलर मात्रै दिएका थिए ।

युद्ध चलिरहेकै क्रममा सन् १९७० मा तत्कालीन सिङ्गापुरका प्रधानमन्त्री लि कान यु, मलेसियाका प्रधानमन्त्री टेकु अब्दुल रहमान र इण्डोनेसियाका राष्ट्रपति सुकार्नोबीच आपतकालीन बैठक बस्यो । उनीहरूबीच भएको दुई घण्टाको बैठकले युद्धविराम गर्ने सहमति भयो । यसपछि ब्रिटिस गोरखाले एक वर्षभित्रमा ती देश छोड्नुपर्ने अवस्था आयो । त्यही सहमति पछि सन् १९७१ मा ‘ब्रिगेड अफ गोरखाज्’ सुङ्गइपटनीबाट हङकङ सरेका थियो । त्यसबेला ५ बटालियन मध्ये ३ बटालियन हङकङमा थियो । बाँकी एउटा ब्रुनाइ र अर्को एउटा ब्रिटेनमा थियो ।

हो, त्यही सेकोङ ब्यारेकमा अहिले चिनियाँ जनमुक्ति सेना बसेको रहेछ । हामीले बाहिरैबाट यो ब्यारेकको तस्बीर खिच्यौँ । ब्यारेकको मुख्य गेटमा गएर तस्बीर खिचाउँदै गर्दा खड्क दाइ निकै ‘नोस्टाल्जिक’ हुनुभयो । भन्दै हुनुहन्थ्यो, ‘यही हो, हामी र हाम्रो हजारौँ पूर्खाहरूले तालिम गरेको ।’ मुख्य गेटबाट अलि तलतिर फयामिलीलाइन अर्थात् श्रीमती सहित बस्ने घरहरू रहेछ । खड्क दाइ र मणि किरात दाइले ठटयौली पारामा सुनाउनुभयो, ‘राजेश, यो लाइन बच्चा जन्माउने कारखाना हो, परिवारसहित आएका गोरखा सैनिकहरूले यहीँ श्रीमती राख्थे ।’ त्यहाँ जन्मेका हजारौँ गोरखा सैनिकका सन्तानहरू अहिले पनि छँदैछन् ।

त्यस वरिपरि सानोतिनो जङ्गल पनि रहेछ । त्यहाँका रुख सबै गोरखालीहरूले रोपेका रहेछन् । रुख रोप्न उतिबेला अनिवार्य गरिएको रहेछ । आ-आफ्नो सैनिक नम्बर लेख्दै रुखहरू रोपिएका रहेछन् । मणि दाइ भन्दै हुनुहन्थ्यो, ‘कतिको त अझै आर्मी नम्बर होलान् ।’

सेकोङ ब्यारेक वरिपरि ठूला-ठूला डाँडाहरू रहेछन् । ती डाँडाहरू, जहाँ गोरखालीहरूले धेरै दशक साँझ बिहान पसिना बगाएका थिए । उहाँहरूको पुरानो दिनका कहानी सुनिराख्दा यस्तो लाग्थ्यो, ‘मानाैं ती डाँडाहरूको प्रत्येक ढुङ्गामाटोले गोरखालीहरूलाई चिन्छ । त्यहाँका सारा ढुङ्गामाटोलाई गोरखालीहरूले छोएका छन् ।’ आˆनो पसिनाले लछप्पै भिजेका यी डाँडाहरू गोरखालीहरूलाई आफ्नै आँगनजस्तो लाग्दोरहेछ ।

पुरानो ब्यारेकहरू हेर्दै हामी क्यासिनो क्याम्प र तामी क्याम्पबीचमा रहेको गोरखा सिमेट्री अर्थात् समाधिमा पुग्यौँ । अहिलेसम्म गोरखाहरूलाई सम्झिने ठाउँ यो मात्रै रहेछ, तर त्यति भव्य हङकङमा गोरखालीहरूलाई सम्झाउने यो समाधि भने जङ्गल भित्र रहेछ । उतिधेरै सरसफाई गरिएको थिएन । यसलाई अझ समृद्ध र सुरक्षित बनाउन गोरखाहरूको ठोस पहल र हङकङ सरकारको सहयोगको जरुरी छ । यो संरक्षण र सम्बर्द्धनको पर्खाइमा देखियो ।

सात मार्चमा मणि दाइ र खड्क दाइसँगै निकै लामो बाटो छिचोलेर गोरखाहरूको पुरानो क्याम्प पेरोन ब्यारेक हेर्न गयौँ । समुद्रको किनारामा रहेको यो ब्यारेक अहिले खाली नै रहेछ । सामान्य रेखदेखका लागि केही ब्रिटिस कर्मचारी रहेछन् । खड्क दाइले आफूहरू भूपू गोरखा भएको बताएपछि खुशी भएर उनीहरूले सलाम गरे । ब्रिटिस शासकले गोरखाहरू माथि अन्याय गरे पनि ब्रिटिस जनताको मनमा भने गोरखाप्रति अगाध माया र सम्मान अझै छ । त्यही झल्को उनीहरूको सलामले देखाएथ्यो । यो ब्यारेकमा गोरखा इन्जिनियर्सको पल्टन बस्थ्यो । गोरखा हाकिम केशरबहादुर लिम्बूको नाममा बनेको एउटा हल अझै रहेछ । हल अघिको भागमा लेखिएको थियो ! ‘केशरबहादुर लिम्बू’ ।

त्यसभित्रका सबै भौतिक संरचना बिस्तारै जीर्ण हुँदै गएको देखिन्थ्यो । गोरखालीहरूको साइनो सम्बन्ध, रगत, पसिना र आँसु जोडिएको गोरखा ब्यारेकहरूमध्ये सजिलैसँग पस्न सकिने ब्यारेक यही रहेछ । त्यही ब्यारेकभित्र एउटा ठूलो नेपाली मन्दिर पनि रहेछ । त्यही मन्दिर जहाँ गैरहिन्दू गोरखाहरूले प्रत्येक आइतबार हिन्दूधर्मको पाठ गर्नुपथ्र्यो । हिन्दूकरणको एउटा कारखाना हो त्यो । ‘यही मन्दिरमा हामीले प्रत्येक आइतबार हिन्दूधर्मको कर्मअनुसार हिन्दूकर्म गर्नुपथ्र्यो’, खड्क दाइले मन्दिर देखाएर भन्दै हुनुहुन्थ्यो, ‘यहाँ हजारौँ लाहुरेले हिन्दू पाठपूजा गरे ।’

पेरोन ब्यारेकबाट फर्किँदै गर्दा हङकङको सबैभन्दा लामो पुल र संसारको सबैभन्दा लामो पोल दुरी भएको पुल चिङगा बि्रज हेर्‍यौँ । त्यो पुलको सबै प्राविधिक गोरखा इन्जिनियर पल्टनका गोरखालीहरूले गरेका रहेछन् । हङकङको शानसौकातको रुपमा रहेको यो पुल निर्माणमा सयौँ गोरखालीहरूको पसिना बगेको कहानी खड्क दाइले बताउनुभयो । उहाँ भन्दैहुनुहुन्थ्यो, ‘यो पुल गोरखा इञ्जिनियरका गोरखालीहरूले आएर बनाएका हुन् ।’ आज हङकङले चिङ्गा बि्रजलाई शानसौकातको रुपमा संसारलाई देखाइरहँदा यो पुललाई बनाउने गोरखा इन्जिनियर पल्टनका गोरखालीहरूलाई भुल्नु बेइमानी हुनेछ ।

अर्को दिन ईश्वर मामा, खड्क दाइ र मणि दाइ हङकङ र चीनको सीमा क्षेत्र लोकमाचाउ गयौँ । लोकमाचाउ चीनको आर्थिक क्षेत्र सेन्जेन शहरसँग जोडिएको छ । चीनले सेन्जेनलाई सन् १९८० मा थालिएको विशेष आर्थिक क्षेत्रहरूको निर्माण अभियानमा पहिलोपटक छानेको थियो । यही लोकमाचाउ क्षेत्रमा हजारौँ गोरखालीहरूले सीमा तैनाथी गरेका थिए । उतिबेला हङकङलाई चीनबाट भिन्नखालको खतरा थियो । त्यो खतराबाट बचाउन गोरखालीहरूले ढालको रुपमा काम गरेका थिए ।

लोकमाचाउ हुँदै हामी पुराना गोरखा ब्यारेकहरू ग्यालीपुली, बर्मालाइन, डिल्सकर्नर, लोउरेन्जतिर गयौँ । पुरानो ब्यारेकहरूको भौतिक संरचना उस्तै रहेछ । बर्मालाइनको तैनाथी पोष्टमा सामान्य रेखदेख गर्न हङकङकै कर्मचारीहरू राखिएका थिए । खड्क दाइले ती कर्मचारीहरूलाई आफूहरू भूपू गोरखा भएको बताएपछि उनीहरू पनि खुशी भए । उनीहरू गोरखाहरूको बारेमा जानकार रहेछन्, तर ब्यारेकभित्र कसैलाई जाने अनुमति छैन क्यारे ! उनीहरू सामान्य कुरा गरेर भित्र छिरिहाले ।
Ocen-park-3
डिल्सकर्नरमा लामो फयामेली लाइन रहेछ । त्यहीँ जन्मेका अधिकांश गोरखाका सन्तानहरूले हङकङ आइडी पाएका छन्, तर उतिबेला कुनै पनि गोरखालीहरूलाई यस बारे पत्तो थिएन । यहीँ सन्तान जन्माए हङकङको आइडी पाउँछ भन्नेमा उनीहरू बेखबर थिए । ईश्वर मामा भन्नुहुन्छ, ‘यहाँ जन्माउँदा आइडी पाउँछ भन्ने कुरा थाहै भएन, यदि त्यस्तो थाहा भएको त सबैले यहाँ नै ल्याएर बच्चा जन्माउन लाउथ्यौँ होला ।’

खोइ बलिदान र योगदानको चिनो ?

जनगायक रामेश विद्यार्थीकालका हाम्रो आदर्श गायक थिए । त्यसो त अहिलेको पनि हुँदै हो । संयोगले रामेश दाइको एकल साँझमा सहभागी हुने मौका मिल्यो । ‘हङकङ हिमायती’ले पाकिस्तानी क्लबमा गरेको कार्यक्रममा रामेशले नयाँ पुराना जनवादी गीतहरू सुनाउनुभयो । राल्फाकालीन संस्मरणको साथमा केही मनका बहहरू पनि पोख्नुभयो । समुद्रपारीको शहरमा पि्रय गायकको गीत सुन्दा असाध्यै हर्क लाग्यो । हङकङमा बसेर साहित्यकर्ममा लागेका टंक सम्बाहाम्फेसँग दिनभर घुमेर हामी रामेश दाइको गीत सुन्न पुगेका थियौँ ।
पाकिस्तानी क्लब छिर्दै गर्दा पाकिस्तानी झण्डा फरफराई रहेको देखेँ । त्यसको नजिकै भव्य भारतीय क्लब पनि रहेछ । उसैगरी भारतीय क्लब अगाडि भारतको झण्डा फरफराइरहेको देखेँ । त्यहाँ पुग्ने जो कोही भारतीयहरूलाई त्यो झण्डा देखेर गौरवले कति छाती फुल्दो हो । तर विडम्बना त्यति लामो योगदान र वलिदान गर्ने गोरखालीहरूको भने यस्तो कुनै त्यस्तो क्लब वा अरु केही छैन रहेछ ।

गोरखाली वा नेपालीहरूको कुनै त्यस्तो क्लब नहुनुमा स्वयम् हाम्रो आफ्ना धेरै कमजोरी पनि होलान् ? तर, त्यति ठूलो योगदान र बलिदान गरेका गोरखालीहरूलाई नसम्झिनु हङकङ सरकारको पनि बेइमानी हो । होलान्, भारत, पाकिस्तान, अमेरिका वा अरु कुनै देशबाट हङकङमा आएर व्यापार गरे नाफा गरे होलान्, त्यही नाफाले सरकारलाई प्रभावित पारे होलान् । भलै, गोरखालीहरूले अन्य देशका फिरङ्गी व्यापारीहरूले जस्तो नाफा कमाएर हङकङ सरकारलाई प्रभावित पार्न सकेनन्, तर दशकौँदेखि हङकङको लागि रगत र पसिना बगाएको तथ्य घामजस्तै छर्लङ्ग छ, तर हङकङ सरकारलाई आˆनो माटो र मुलुकको लागि इमानदारीतापूर्वक रगत पसिना बगाइदिने सोझा सिपाहीभन्दा नाफाखोर व्यापारीहरू किन प्रिय बने ?
बि्रटिस गोरखाहरूले प्रयोग गरेका त्यतिधेरै क्याम्पहरू अझै पनि खाली नै रहेछन् । यदि केही तथ्य सहित गोरखालीहरू संगठित रुपमा जाने हो भने कहीँ न कहीँ कुनै भवन अवश्य दिनेछ, तर ढिलो गर्नु हुँदैन । यही प्रसङ्गमा बि्रटिस गोरखा भूतपूर्व सैनिक संगठन हङकङका नेतृत्वहरूसँग बहस हुँदा पनि उहाँहरूले चाँडै यसको लागि ठोस पहल गर्ने जानकारी दिनुभएको छ ।

को हुन् असली निर्माता ?
यो माटोभित्र उम्लिरहेको रगतको आवेग
-कसको हो ?
यो महलको चोटा-चोटाबाट आइरहेको पसिनाको गन्ध
-कसको हो ?
यी दरबारका भव्य झ्याल-ढोकाहरूमा
कसकसका हातका रेखाहरू छन् ?
यी मन्दिरका मूर्ति र गुम्बाका गजुरहरूमा
कसकसका औँठाका शङ्ख-चक्रहरू छन् ?
एक-एक खुटयाउनु छ, इतिहासको खुनी अनुहार
चिन्नु छ-
को हो असली निर्माता ?
(उत्खनन्, श्रवण मुकारुङ)

कवि श्रवण मुकारुङले सोधजस्तै ‘यी भव्य झ्याल-ढोकाहरूमा कसकसका हातका रेखाहरू छन् ?’ सोध्ने हो भने, निश्चित रुपमा उत्तर आउनेछ, ‘गोरखालीहरूको हातका रेखाहरू पनि छन् ।’

माथि पनि प्रसङ्ग आयो । भारतीय र पाकिस्तानीहरूलाई क्लब दिइएको छ, तर गोरखालीलाई दिइएको छैन । साँचो अर्थमा उनीहरू हङकङमा नाफा कमाउन आए, तर गोरखालीहरू सुरक्षा दिन र निर्माण गर्न । हिजो ब्रिटिस कालमा गोरखालीहरूले ढालजस्तै सीमानाको रक्षा गरे, तिनै गोरखालीहरूले आज हङकङका ठूला मानिसहरूलाई ढालजस्तै सुरक्षा दिइरहेका छन् ।

अहिले पनि हङकङका धनीहरूको निजी सुरक्षा गार्ड नै गोरखाली छन् । फेरि गोरखालीहरू अन्य देशका नागरिक जस्तो शरणार्थी भएर वा लुकेर पनि हङकङ गएका होइनन् । त्यही देशको रक्षाको लागि त्यहाँ पुगेका हुन्, तर गोरखालीहरूलाई चाहिँ उनीहरूलाई जति पनि सम्मान नगर्नु चाहिँ विडम्बना हो । भनिन्छ, देश समृद्धिको पहिलो शर्त सुरक्षा र निर्माण हो । हङकङको सुरक्षा र निर्माणमा गोरखालीको पहिलो उपस्थिति रहयो । भव्य हङकङको शान विमानस्थल, चिङगा बि्रज, रेलसेवा, ओसन पार्क, बिग वुद्ध, ठूला भवनहरू आदिको निर्माणमा गोरखालीहरूको महत्वपूर्ण सहभागिता रहयो । सुरक्षाको मामलामा सीमानादेखि शासक (धनीहरू नै शासक बन्छन्) सम्मको सुरक्षा गोरखालीले नै गरेका छन् ।

हङकङमा जीवनका उर्वर समय बिताएका गोरखालीहरूको जीवनका कथाहरू सुनिरहँदा यस्तो लाग्छ, मानौँ हङकङ सबै गोरखालीहरूले बनाएका हुन् । कम्तिमा सबै नबनाए पनि पसिना त बगाएकै हुन् । गोरखालीहरूले आफ्नो योगदान र बलिदानबारे हङकङ सरकारलाई एकपटक सम्झाउने कि ?
onlinekhabar.com