प्रताप बानियाँ
वैशाख–२४, म्याग्दी ।
जिल्ला कृषि विकास कार्यालय म्याग्दीद्धारा माछापालन कृषकहरुलाई २६ हजार माछाका भुरा वितरण भएको छ । जिल्लाका विभिन्न गाविसका १८ जना माछापालन कृषहरुलाई कार्यालयले कमन कार्प जातको माछाको भुरा वितरण गरेको हो ।
कृषि कार्यालय म्याग्दीले मच्छेपालन अनुसन्धान बेगनासताल पोखराबाट माछाका भुरा ल्याएर किसानहरुलाई उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत बसन्तकुमार श्रेष्ठले बताए । उनका अनुसार पोखराबाट ढुवानीबाहेक प्रतिभुरा ५० रुपैयाँका दरले किसानलाई वितरण गरिएको छ ।
म्याग्दी जिल्लामा माछापालनका लागि पोखरी, ताल, तलैया, इनार तथा कुवा गरी २ सय ७० ओटा पोखरीमा किसानले माछा पालेको जिल्ला विकास समिति म्याग्दीको रेकर्डमा उल्लेख छ । त्यसैगरी जिल्लाको अर्थुङ्गे, घतान, पिप्ले, बाबियाचौर, ताकम, घार, भगवती, रत्नेचौर, अर्मन र सिंगा गाविसका कृषकहरु माछापालनतर्फ आकर्षित भएको अधिकृत श्रेष्ठले जानकारी दिए ।
कृषि कार्यालयको कृषि प्रसार कार्यक्रम अन्तर्गत किसानहरुलाई भुरा वितरण गरिएको कार्यालयकी योजना अधिकृत ज्योती क्षेत्रीले बताएकी छिन् । हालसम्म कृषि कार्यालयमा ६० हजार माछाका भुराको माग आएको छ भने पहिलो चरणमा २६ हजार भुरा उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।
कृषि कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार जिल्लाभरमा करिब ५० जना कृषकहरु माछापालनमा लागेका छन् । त्यस्तै उनीहरुले १ देखि ५ सय वर्गमिटरसम्म फैलिएका पोखरीको निर्माण गरी माछा पाल्ने गरेको बताइएको छ ।
यसरी पालिएको माछाको प्रतिकिलो २ सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्म किसानले घरबाटै बेच्ने गरेका छन् । म्याग्दीमा कमन कार्प, ग्रास कार्प, बिगहेट तथा सिल्भर कार्पलगायतका जातका माछाहरु पाल्ने गरिएको छ । यसबाट किसानले मनग्गे आम्दानी गर्ने गरेको जनाइएको छ ।