प्रताप बानियाँ
जिल्लाका विभिन्न गाविसमा गैरसरकारी संघसंस्थाहरुले आफ्नो कार्यक्रम सञ्चालन गर्दा समवन्य गर्नुपर्नेमा . म्याग्दी सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । यूरोपियन यूनियनको आर्थिक सहयोग, सोडक नेपाल पर्वतको अगुवाई र सेक्रेट पर्वतको सहकार्यमा सञ्चालित लैंगिक समानताका लागि महिला सशक्तिकरण परियोजनाको वार्षिक समिक्षा गोष्ठीमा बोल्दै उनीहरुले सहकार्य गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्ने वक्ताहरुले भने गाविस छनोट गरी कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित सबै पक्षसँग समन्वय हुनुपर्ने, लैंगिक समानताका कार्यक्रम गर्दा परिवारमा द्वन्द्व आउन नहुने, स्वास्थ्यसँग जोडिएका कार्यक्रम समुदायस्तरमा सञ्चालन गर्नुपर्ने र सफ्टवेयरमा मात्र नभई हार्डवयरमा कार्यक्रम गर्नुपर्ने बताएका थिए ।कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले लक्षित वर्गका लागि सञ्चालन गरिएका कार्यक्रमको स्पष्ट डाटा आउनुपर्ने बताउँदै विषयगत कार्यालय र सरोकारवालासँग समन्वय गर्न सुझाव दिएका छन् । उनले पारदर्शी र प्रभावकारी रुपमा संघसंस्थाले कार्यक्रम गर्नुपर्ने आग्रह पनि गरेका छन् ।
प्रजिअ कार्कीले एनजिओ÷आइएनजिओ र विषयगत कार्यालयहरुले गर्ने अधिकांश कार्यक्रमहरु दोहोरिएको र धेरैपटक एकै ठाउँमा भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले समिक्षा, अन्तत्र्रिmया र छलफल कार्यक्रमहरु निरन्तर हुनुपर्नेमा जोड दिएका थिए ।सोही कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले सरोकार राख्ने निकाय तथा सर्वसाधारणले हेर्ने दृष्टिकोण सकारात्मक बनाउन एनजिओहरुले संवेदनशिल भएर कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए । उनले स्थानीय निकायसँग सहमति लिएर मात्रै गैरसरकारी संस्थाले कार्यक्रम गर्नुपर्ने भन्दै प्रत्यक्ष जनतालाई फाइदा पुग्ने कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका थिए ।
उनले नेपाल सरकारको साझेदारी गर्ने संघसंस्थाहरु भएकाले सो अनुसार सरकार नपुग्ने ठाउँमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै प्रशासनिक खर्चमा भन्दापनि समुदायस्तरमा लगानी वृद्धि गरी कार्यक्रम गर्नुपर्ने बताए । कार्यक्रममा परियोजनाका टिम लिडर डा. योगेन्द्र रिजालले परियोजनाका कार्यक्रम, उद्देश्य, लाभान्वित वर्ग तथा म्याग्दी जिल्लामा सम्पादन गरिएका मुख्य क्रियाकलापको बारेमा सहजीकरण गरेका थिए ।
समिक्षा कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सचिव माधवप्रसाद रेग्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एकेन्द्रबहादुर रावल, जनमोर्चा म्याग्दीका अध्यक्ष रमेशकुमार पुन, संघीय समाजवादीका अध्यक्ष मुक्ति रोका, गाविस सचिव लिलाबहादुर चोखाल, शालिकराम सापकोटा, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल र महिला मानव अधिकार रक्षक सञ्जाल अध्यक्ष रेखाकौशल रेग्मीले आ–आफ्नो धारणा राखेका थिए ।परियोजना संयोजक सविता शर्मा कँडेलको अध्यक्षता, सामुदायिक सहजकर्ता सुशिला केसीको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सोडेक नेपालका कार्यक्रम संयोजक देवीप्रसाद तिमिल्सेनाको सञ्चालन गरेका थिए ।