चेतना अभाव र फितलो कानूनले किशोरी पिडित

अगन्धर तिवारी

ग्रामिण क्षेत्रमा छोरा र छोरीबिच भेदभाव गर्न हुँदैन भन्ने चेतनाको अभाव र शहरी क्षेत्रमा कानूनको कार्यान्वयन पक्षमा ध्यान नदिँदा गाउँ र शहर दुबै क्षेत्रमा छोरीहरुले मानशिक र शारिरिक पिडा सहनुपरेको पर्वतमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । सोमबार पर्वत सदरमुकाम कुश्मामा विभिन्न सरोकारवाला कार्यालयहरुले आयोजना गरेको किशोरीहरुको जिल्लास्तरिय सञ्जाल गठन गर्न जिल्लाका ४० गाविसबाट आएका किशोरीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

माध्यमिक तहको शिक्षामा किशोरी शिक्षाका केहि कुराहरु समेटिएको भए पनि त्यो व्यहारिक हुन नसकेको सहभागिहरुको गुनासो छ । सहभागि किशोरीहरुले ग्रामिण क्षेत्रमा छोरा र छोरीमा देखिने भेदभाव कम गर्न सरकारी तथा गैरसरकारी संस्थाहरुको भूमिका सन्तोषजनक नभएको गुनासो व्यक्त गरेका थिए । जिल्ला देखि गाउँ तहसम्म किशोरी सञ्जाल गठन गरेर चेनतामुलक कार्यक्रम सञ्चालन गर्न सकेमा केहि हद सम्म समस्या समाधान हुने उनिहरुको राय छ ।

कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी एवं कार्यक्रमका प्रमूख अतिथि कृष्णप्रसाद लम्सालले अहिले राज्यका हरेक निकायमा लैङ्गिकमैत्री कार्यक्रम लागु गरेको कुरा स्मरण गराउँदै पर्वतका हरेक गाविसमा आउने वार्षिक बजेटको केहि प्रतिशत रकम किशोरीहरुको क्षेत्रमा पनि खर्च गरिने व्यवस्था रहेको बताए । उनले नयाँ गठन हुन लागेको जिल्लास्तरिय किशोरी सञ्जालका लागि पनि उचित बजेट विनियोजन गरिने प्रतिवद्धता पनि जनाए । कार्यक्रममा बोल्दै पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी चुडाराज भट्टराईले लैङ्गिक विभेदको समस्यामा परेकाहरुका लागि स्थानीय प्रशाषनले चौबिसै घण्टा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपालमा किशोरीहरुले भोगिरहेका समस्याका डरलाग्दा तथ्याङ्क सहितका डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । किशोर किशोरीहरुको शिक्षा, स्वास्थ्य, अधिकार लगायतका क्षेत्रमा प्लान नेपाल लगायतका गैर सरकारी संस्थाहरुले काम गर्दै आएको भए पनि उनिहरुका प्रतिवेदन कागजमा मात्रै सिमित रहनाले समस्या समाधान हुन नसकेकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा गैर सरकारी महासंघ पर्वतका अध्यक्ष राजेन्द्र पौडेल, प्लान नेपालका जिविकोपार्जन संयोजक हेमराज पौडेल, इन्प्रेड नेपालका कार्यकारी निर्देशक राजु पौडेल, इन्प्रेड नेपालका कार्यक्रम संयोजक ऋषिराम पौडेल, सिप विकास कार्यालयका प्रमुख सुरेन्द्र पाण्डे, नेपाल पत्रकार महासंघ पर्वतका सह–सचिव राजबाबु पिसी, महिला विकास कार्यालय पर्वतकी सरिता शर्मा लगायतले किशोरी शिक्षा गाउँगाउँसम्म पु¥याउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम बालिका शक्ति राष्ट्रिय संयोजन समिति, इन्प्रेड नेपाल, सहमती नेपालको आयोजना तथा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको हो ।