प्रताप बानियाँ
बहुसरोकारवाला बन कार्यक्रम ली–बर्ड र एलायन्स नेपाल बागलुङको आयोजनामा सुशासन नेतृत्व विकास तथा द्वन्द्व व्यवस्थापन तालिम सुरु भएको छ । सामुदायिक बनमा हुने विवादको समाधानको न्यूनीकरण गर्ने उद्देश्यले म्याग्दीको सदरमुकाम बेनीमा तालिमको आयोजना गरिएको हो ।
तालिममा बोल्दै जिल्ला बन कार्यालय म्याग्दीका सहायक बन अधिकृत नेपाली शाहले तालिमले सामुदायिक बनमा रहेका विवादको समाधानमा सघाउ पु¥याउने बताएका छन् । उनले व्यक्तित्व र नेतृत्वको विकास गरी द्वन्द्व व्यवस्थापनमा समेत तालिमले थप सहयोग पुग्ने बताए ।
तालिममा सामुदायिक बन व्यवस्थापनमा सुशासन, द्वन्द्व व्यवस्थापन, नेतृत्व एवं व्यक्तित्व विकास, बनमा परेका विवाद, न्यूनीकरणका उपाय, बन समितिको भूमिका, सरोकारवाला निकायको सरोकार र दिगो बन व्यवस्थापनकालगायतका विषयहरुमा सहजीकरण गरिने आयोजकले जनाएको छ ।
तालिमको जिल्ला बन कार्यालय म्याग्दीका रेञ्जर चन्द्रमणी सापकोटा, ली–बर्डका जिल्ला संयोजक ईन्द्रेश्वर मण्डल, तालिम संयोजक सुमन गुप्ता, ईन्द्र कार्की, अजय मानन्धर, सुशान्त आचार्य र मणीभद्र शर्माले सहजीकरण गर्ने बताइएको छ । ६ दिनसम्म चल्ने तालिममा म्याग्दी र पर्वत जिल्लाका ली–बर्डका स्टाफ, सिनिएफएमए, साझेदार संस्थाका स्थानीय सहजकर्ता तथा कार्यक्रम संयोजक एवं जिल्ला बन कार्यालयका प्रतिनिधि गरी कुल ३० जना सहभागी रहेको आयोजकले जानकारी दिएको छ ।
सहायक बन अधिकृत शाहको अध्यक्षता, ली–बर्डका एडमिन लजिस्ट्रिक एशोसियट श्यामलाल विकको सञ्चालन, ईन्द्रेश्वर मण्डलको स्वागतमा सुरु भएको तालिमको उद्देश्य र औचित्यमाथि सुमन गुप्ताले प्रकाश पारेकी थिइनभने साझेदार संस्थाको तर्फबाट मिलन म्याग्दीको कार्यकारी निर्देशक दिवा पुनले मन्तव्य राखेकी थिइन् ।