पर्वतमा दलित युवाको मृत्यु जातीय विभेदका कारण : अध्ययन टोली

२२ बैशाख, काठमाडौं । पर्वतमा कामी र सार्की समुदायबीच झडप भएपछि एकजनाको ज्यान गएको घटना जातीय विभेदकै कारण भएको निष्कर्श स्थलगत अध्ययनका लागि गएको टोलीले निकालेको छ ।
जागरण मिडिया सेन्टर, समता फाउण्डेशन, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, नेपाल दलित महिला उत्थान संघ, कोक्याप र दलित महिला संघले संयुक्त रुपमा घटनाको स्थलगत अध्ययन गरेर घटना जातीय विभेदकै कारण भएको निष्कर्श निकालेका हुन् ।
टोलीले उक्त घटनाको कारण दुईपक्षबीचको जातीय विभेद र छुवाछुत भएको जनाउँदै पीडकमाथि हाल चलिरहेको कर्तव्य ज्यानसम्बन्धी मुद्दाको अतिरिक्त जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन ०६८ बमोजिम पनि मुद्दा चलाइनुपर्ने माग गरेको छ ।
‘घटनाको उठान छुवाछुतकै कारण भएको ठहर गरेता पनि जातीय विभेद तथा छुवाछुत सम्बन्धी अपराधलाई प्रहरी प्रशासनले अनुसन्धानको दायरामा नल्याएको र ल्याउन सकिने कुरालाई पनि स्वीकार नगरेको देखिन्छ’ सोमबार निकालिएको विज्ञप्तीमा भनिएको छ ।
०७० चैत्र २१ गते शुक्रबार पर्वतको पाङ गाविस-२ सुन्दरबस्तीस्थित चन्द्रबहादुर सुनारको छोराको ब्रतबन्धको अवसरमा आयोजित भोजमा नेपाली (सार्की) समुदायका आमन्त्रित युवाहरुलाई दाल नछुन भन्दा सोही साँझ विवाद भएर झडपको रुप लिँदा घाइते भएका १५ वर्षीय राजेश नेपालीको पोखरास्थित मणीपाल शिक्षण अस्पतालमा उपचारको क्रममा चैत्र २९ गते मृत्यु भएको थियो ।
“मृतक नेपाली दिउँसो भएको भोजमा सहभागी नभई आफ्नो खेतमा काम गरेर घरमा खाना खाएर सुतिसकेका थिए’, विज्ञप्तीमा भनिएको छ, ‘चन्द्रबहादुर सुनारको घरसँगै बन्दै गरेको उनको घरमा राखिएका ड्रम तथा टिनहरुमा ढुङ्गाले हानेको र होहल्ला सुनेपछि राजेश भोजस्थल पुग्दा विश्वकर्मा परिवारका युवाले उनीमाथि कुटपिट गरी सख्त घाईते बनाए ।’
विज्ञप्तीमा जागरण मिडिया सेन्टरका तर्फबाट दिपक परियार, समता फाउण्डेशनका तर्फबाट बद्रिप्रसाद भुसाल, कोक्यापका तर्फबाट सहेक विश्वकर्मा, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका तर्फबाट नरेश सोव, नेपाल दलित महिला उत्थान संघका तर्फबाट गौरा नेपाली र दलित महिला संघका तर्फबाट शर्मिला बागचन्दले हस्ताक्षर गरेका छन् ।अनलाइनखबर