महिलाहरुले तालिममा अगरबत्ती बनाए

प्रताप बानियाँ
वैशाख–२२, म्याग्दी ।
म्याग्दी जिल्लाको पुलाचौर गाविसका महिलाहरुले तालिम हलमा नै अगरबत्तीको निर्माण गरेका छन् । महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा गत बुधबारदेखि बेनीमा सञ्चालित महिलाहरुलाई अगरबत्ती बनाउने जिल्लास्तरीय तालिमको अवधिमा उनीहरुले दुईसय २८ प्याकेट अगरबत्ती बनाएका हुन् ।
महिलाहरुको सीप विकास गरी आर्थिक रुपमा सक्षम र लघुउद्यमी बनाउने उद्देश्यले सञ्चालित तालिममा प्रयोगात्मक अभ्यास गरी उनीहरुले अगरबत्ती बनाएका छन् । तालिममा अगरबत्ती बनाउने तरिका, विधि र आवश्यक सामग्रीका बारेमा म्याग्दीको बेगखोला–२ बेगकी अगरबत्ती महिला लघुउद्यमी सेमिता पुनले सहजीकरण गरेकी थिइन् ।
अगरबत्तीका लागि आवश्यक बाँस, कोइला, काउलो, तेल, सेन्ट, प्लाष्टिक र रङको प्रयोग गरी अगरबत्तीको निर्माणकार्य सम्पन्न गरिएको छ । दक्ष व्यक्तिले दिनमा १ हजार ६ सयवटा अगरबत्तीका काँटाहरु तयार गर्नसक्ने सहजकर्ता पुनको भनाइ छ ।
त्यस्तै उत्पादित अगरबत्तीको प्रतिकाँटा २० र दर्जनलाई दुईसय रुपैयाँसम्म पर्ने बताइएको । ५ दिनसम्म सञ्चालन भएको तालिममा पुलाचौर गाविसमा महिलाको क्षेत्रमा क्रियाशिल संस्था श्री जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध २० जना महिलाहरुको सक्रिय सहभागिता रहको थियो ।DSC01001
तालिममा बोल्दै महिला विकास अधिकृत निर्मला शर्माले कार्यालयद्धारा अगरबत्ती निर्माणको तालिम पहिलोपटक सञ्चालन गरिएको बताइन् । उनले सिपमूलक तथा अन्य व्यावसायिक तालिम तथा कार्यक्रमहरु कार्यालयले सञ्चालन गर्दै आइरहेको जानकारी दिएकी छिन् । मुख्य महिला कार्यकर्ता लक्ष्मी केसीको संयोजनमा सम्पन्न तालिममा निर्माण गरिएका अगरबत्ती प्रति प्याकेट २० का दरले बिक्री गर्ने कार्यालयले जनाएको छ ।