पात्लेखेतमा जलाधार व्यवस्थापनसम्बन्धी अनुगमन

प्रताप बानियाँ

सहभागीतामूलक जलाधार व्यवस्थापन तथा स्थानीय सुशासन आयोजनाको जिल्ला कार्यसमितिको वैठक सम्पन्न भएको छ । म्याग्दी जिल्लाको ३ गाविसमा सञ्चालित जलाधार व्यवस्थापनका सम्बन्धमा परियोजनाद्धारा स्थानीयस्तरमा सञ्चालन योजनाको बारेमा जानकारी गराउने उद्देश्यले पात्लेखेतमा वैठकको आयोजना गरिएको हो ।

कार्यक्रममा जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले आयोजनाको मुख्य उद्देश्य, अवधारणा, कार्यान्वयनका मोडेललगायतका विषयमा सहजीकरण गरेका थिए । उनले आयोजना लागू भएदेखि यता पिप्ले, पात्लेखेत र झिँ गरी ३ गाविसमा १५ सय ९४ घरधुरी प्रत्यक्ष लाभान्वित भएको जानकारी दिएका छन् ।
DSC01049
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जापान अन्तर्राष्ट्रिय सहयोग नियोगद्धारा जिल्लाका ३ गाविसमा सञ्चालित जलाधार व्यवस्थापन कार्यक्रमको निरन्तरताका लागि जिल्लाबाट थप पहल गर्ने बताएका छन् । उनले पात्लेखेतको पहिरो नियन्त्रणका लागि ३ करोडबढीको लागत स्टमेट गरिएको बताए ।

उनले जिल्लाभरी सबैभन्दा ठुलो पहिरोको जोखिममा पात्लेखेत गाविस परेको भन्दै न्यूनीकरणमा साथर्कता नपाएकाले सानो सहयोगले पूर्ण नहुने हुँदा ठुलो सहयोगको आवश्यकता रहेको बताएका छन् । म्याग्दी जिल्लाका गाविसहरुमध्ये विशेष पहिरोको जोखिममा परेका पात्लेखेत, पुलाचौर र भकिम्लीमा गएको भू–क्षय नियन्त्रणका लागि केन्द्रीयस्तरमा योजना माग गरिएकाले रोकथामका लागि आवश्यक बजेट विनियोजन हुने प्रजिअ कार्कीको भनाई छ ।
???????????????????????????????
सोही कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले जाइका प्रोजेक्टले विकासप्रति स्थानीयहरुको अपनत्वको भावना जगाइदिएको बताउँदै जनसहभागीता जुटाएर काम गर्दा कार्यक्रम सफल भएको बताए । उनले कार्यक्रमले विशेष गरी महिलाहरुको व्यक्तित्व र नेतृत्वको विकास गरेको बताएका थिए ।

त्यस्तै प्रोजेक्टका एक्सपोर्ट एसोहिरो सागावाले आयोजना सफलतापूर्वक सञ्चालन भई अन्तिम चरणमा आएको बताउँदै ५ वर्षको अवधिमा धेरै काम गर्न नसकेपनि क्षमता विकास र योजना निर्माणका कार्यक्रम गरिएको बताए । उनले सरोकारवाला सबैको सहयोग आयोजनाप्रति रहेको भन्दै कार्यक्रम सफल भएकोमा जोड दिएका थिए । कार्यक्रमको अवसरमा गतवर्षको वर्षातको समयमा पात्लेखेतमा गएको पहिरोको समेत अनुगमन तथा निरीक्षण गरिएको थियो । पहिरो नियन्त्रणका लागि सम्बन्धित निकायले आवश्यक गृहकार्य अगाडि बढाएकाले त्यसको समाधानमा सहयोग पुग्ने बताइएको छ ।
DSC01043
कार्यक्रममा बोल्ने सहभागीहरुले भने प्रोजेक्टमार्फत सिधै स्थानीयस्तरमा कार्यक्रम सञ्चालन गरेकोमा त्यसबाट जनता प्रत्यक्ष लाभान्वित भएको, गाविसको पहिरो नियन्त्रणमा थप सहयोगको आवश्यकता रहेको र ग्रामीण भेगमा आर्थिक उपार्जनका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा पात्लेखेत गाविसका सचिव दयाराम शर्मा, झिँका शालिकराम सापकोटा, वडा समन्वय समिति सचिव कृष्ण पुन, महिला पावर समूह पिप्ले गाविस अध्यक्ष कमला शर्मा केसी, सञ्जाल अध्यक्ष खिमबहादुर मल्ल र बान्द्रेखाल्टे पहिरो नियन्त्रण समिति पात्लेखेतका अध्यक्ष केदारनाथ सुवेदीले मन्तव्य राखेका थिए ।

स्थानीय विकास अधिकारी शर्माको अध्यक्षता, जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीका सहायक भू–संरक्षण अधिकृत सञ्जयकुमार मिश्रको स्वागत र सो गाविसका महिला उत्प्रेरक जानकी शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा महिला विकास अधिकृत निर्मला शर्मा, गैरसरकारी संस्था अध्यक्ष हरिप्रसाद पौडेललगायतको उपस्थिती रहेको थियो ।