नारच्याङको छङछङे गुफा ओझेलमा

प्रशस्त पर्यटकीय संम्भावना भएर पनि भौतिक पुर्वाधार र प्रचार प्रसारको अभावमा नारच्याङ गाविसको लेकगाउँ स्थित छङछङे गुफा ओझेलमा परेको छ ।

ब्यवस्थित पदमार्ग र प्रचार प्रसारको कमिका कारण ओझेलमा परेको आकर्षक गुफाको संरक्षण समेत हुन सकेको छैन् । २ सय मिटर लामो गुफामा जनावर, पंक्षी, हातहतीयार, हिमश्रृङ्खला, पहाड, तालतलैया, देविदेवताका मुर्ती, घर आदीका आकृतीहरू अवलोकन गर्न सकिन्छ । गुफाभित्र पानी बगेको आवाज सुनीन्छ ।

पहाडको फेदीमा अवस्थीत गुफाको अगाडीको भाग ५० मिटर अग्लो भएपनि भित्री भाग १० मिटर सम्मको हाराहारीमा फैलीएको छ । ५ वर्षअघि स्थानीयबासीले फेला पारेको सो गुफाको बारेमा जिल्ला भित्र र अन्य ठाउँमा जानकारी नभएकाले ओझेलमा परेको स्थानीय अगुवा टेकबहादुर पुनले जानकारी दिनुभयो ।

गुफाको आकर्षणका बारेमा प्रचार प्रचार हुन नसकेको स्थानीयबासीले बताएका छन् । स्थानीयबासीका अनुसार स्थानीय र छिमेकी गाविसका विद्यालयहरूबाट कहिँले काही शिक्षक र विद्यार्थीहरू गुफाको अवलोकन गर्न आउँछन् ।‘गुफाको बारेमा धरैलाई जानकारीनै छैन्’ पुनले भन्नुभयो ‘पुर्वाधार निर्माण गरि प्रचार प्रसार गर्ने हो भने यो गुफा जिल्लाको नयाँ पर्यटकीय गन्तब्य बन्न सक्छ ।’

२०७१ बैशाख २० गते बेलुकी ७ बजे धु्रबसागर शर्मा