प्रताप बानिया
विगतका वर्षहरुमा झैँ यसवर्ष पनि म्याग्दी जिल्लामा भगवान गौतम बुद्धको २६३८औं बुद्धजयन्ति तथा लुम्बीनी दिवस–२०७१ मनाउने तयारी भएको छ । बुद्धजयन्ति तथा लुम्बीनी दिवस समारोह समिति बेनी म्याग्दीको आयोजनामा यही वैशाखको २९, ३० र ३१ गतेका दिन विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
शनिबार बेनीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो समारोह समितिका संयोजक यजनलाल शाक्यले २०५३ सालमा म्याग्दीमा बौद्ध संघ गठन गरी संघमार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिँदै आएको बताए । उनले म्याग्दी बौद्ध संघ मूल संयोजक रहने गरी यसपाली पनि बुद्धजयन्तिको अवसर पारेर विभिन्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिएका छन् ।
अध्यक्ष शाक्यले बुद्ध धर्मलाई धर्मका नाममा मात्र नलिई यसलाई ज्ञान तथा शिक्षाका लागि लिनुपर्ने भन्दै अन्तर्राष्टियस्तरमा समेत बौद्धधर्म निकै प्रख्यात रहेको बताएका थिए । इशापूर्व ६ सय २३ मा आजभन्दा २६३८ वर्ष पहिले नेपालको लुम्बीनी अञ्चलको कपिलबस्तु जिल्ला अन्तर्गत तौलिहवामा जन्मिएका गौतम बुद्धलाई सत्य, त्यागी र अहिंसावादी तथा महामानव एवं एसियाका ताराका रुपमा चिनिन्छ ।
यसवर्षको कार्यक्रम सम्पन्न गर्नका लागि म्याग्दी बौद्ध संघको संयोजकत्वमा ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । जसमा सहसंयोजक नेपाल मगर बौद्ध सेवा समाज तथा थकाली सेवा समाज, नेपाल छन्त्याल संघ, छन्त्याल संघ प्रारम्भिक समिति, तमु सेवा समाज, महिला बौद्ध संघ, यूवा बौद्ध संघ, नेपाल मगर विद्यार्थी संघ, शाक्य समाज र नेपाल अहिंसावादी बौद्ध धर्मचक्र संघ सदस्य रहेका छन् ।
त्यसैगरी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन र सम्पन्न गर्नलाई विभिन्न ६ ओटा उपसमितिहरु पनि गठन गरिएको छ । त्यस अन्तर्गत याम शाक्यको संयोजकत्वमा प्रचारप्रसार, यजनलाल शाक्यको संयोजकत्वमा आर्थिक सङ्कलन, भुनु तिलिजाको संयोजकत्वमा ज्ञानमाला भजन, तकसरा रानाको संयोजकत्वमा भोजन व्यवस्थापन, चन्द्रमाया पाईजाको संयोजकत्वमा जलपान र खिमबहादुर छन्त्यालको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको आयोजकले जनाएका छन् ।
यसैबीच बुद्धजयन्ति मनाउने सिलसिलामा ३ दिनसम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने भएको छ । सो कार्यक्रम अनुसार पहिलो दिन म्याग्दी अस्पतालका बिरामीलाई फलफुल वितरण र द्वन्द्व व्यवस्थापनमा बुद्ध शिक्षाको महत्व विषयक विचार गोष्ठीको आयोजना गरिने भएको छ ।
त्यसैगरी दोस्रो दिनमा बुद्ध पुजा ज्ञानमाला भजन तथा धर्मदेशना र माविस्तरीय बौद्ध हाँजिरीजवाफ रनिङ शिल्ड प्रतियोगिता र अन्तिम दिन शान्ति पदयात्रा, बौद्ध विहारमा मुल कार्यक्रम तथा रथयात्रा एवं दिपावलीको कार्यक्रम गरिने आयोजकले जानकारी दिएको छ ।
उक्त कार्यक्रम सम्पन्न गर्नका लागि अनुमानित एकलाख ५० हजार रुपैयाँ खर्च लाग्ने बताइएको छ भने हालसम्म ५० हजार रुपैयाँ सङ्कलन भैसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । कार्यक्रमबाट बचेको रकमले बौद्ध विहार निर्माणका लागि खर्च गरिने पनि अपेक्षा राखिएको जनाइएको छ । त्यसैगरी गतवर्षको श्रावण महिनामा आएको बाढीपहिरोका कारण बौद्धविहार पहिरोको जोखिममा परेको छ । पहिरो नियन्त्रणका लागि सरकारी निकायमा बजेटको माग गरेपनि हालसम्म सहयोग नभएको म्याग्दी बौद्ध संघले जनाएको छ ।