प्रताप बानियाँ
म्याग्दीको पुलाचौर–८ भिरमुनीमा अवस्थित पौलस्त्य उच्च माविले शुक्रबार एक समारोहकाबीच विद्यालयलाई सहयोग गर्ने चन्दादाताहरुलाई अभिनन्दन गरेको छ । विद्यालय व्यवस्थापन समितिको आयोजनामा विद्यालयको भौतिक र शैक्षिक विकासमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै संविधानसभाका सभासद नवराज शर्माले विद्यालयको भौतिक निर्माणका लागि आफुले सांसद विकास कोषबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले देश अहिले संविधान निर्माणको कार्यमा जुटिरहेको बताउँदै संविधानसभा गठन भएको एक वर्षभित्र संविधान जारी हुने बताएका छन् ।
सोही कार्यक्रममा बोल्दै पुलाचौर गाविसका सचिव यज्ञबहादुर कार्कीले विद्यालयको भौतिक र शैक्षिक विकासमा गाविसमार्फत निरन्तर सहयोग गरिँदै आएको बताएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको समग्र विकासका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेमा भविष्यमा जिल्लाकै नमुना विद्यालय बनाउन सकिनेमा जोड दिएका थिए ।
कार्यक्रमको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्ने विभिन्न ७० जना भन्दाबढी समाजसेवी, बुद्धिजीवी, भूतपूर्व विद्यार्थी र शिक्षकलगायतलाई सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नवराज शर्माले फुलमाला, खादा र प्रशंसापत्रले सम्मान गरेका थिए ।
सोही कार्यक्रमको अवसरमा म्याग्दी जेसीजले विद्यालयमा रहेको पुस्तकालयलाई जेसीज गाउँ कार्यक्रम अन्तर्गत ३ सय थान पुस्तकहरु हस्तान्तरण गरेको छ । जेसीजका अध्यक्ष बबिन बाग्दास, पूर्वअध्यक्ष धनञ्जय श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष नवराज पौडेल, कार्यक्रम संयोजक भीमनाथ शर्मा र तालिम संयोजक विपिन बानियाँले धार्मिक, राजनीतिक, शैक्षिक, दार्शनिकलगायतका विभिन्न पुस्तकहरु हस्तान्तरण गरेका थिए । पुस्तक हस्तान्तरणपछि बोल्दै पूर्वअध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि पुस्तकहरु विद्यालयलाई सहयोग गर्ने बताएका थिए ।
विद्यालयले यसभन्दा अघि २०७० साललाई आर्थिक सङ्कलन अभियान वर्ष घोषणा गरी कार्यक्रम सञ्चालन गरी आर्थिक सङ्कलन गरेको थियो । सोही अनुसार एक वर्षमा २५ लाख रुपैयाँ भन्दाबढी आर्थिक रकम सङ्कलन भएको कार्यक्रममा विद्यालयका प्राचार्य प्रेमबहादुर बानियाँले प्रगति प्रतिवेदनमार्फत प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बानियाँको अध्यक्षता, सहायक प्रधानाध्यापक गिरिजानन्द पौडेलको स्वागत, शिक्षक शिवप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा विव्यस सदस्य गोविन्द बानियाँ, अभिभावक ओमबहादुर बानियाँ, पूर्वअध्यक्ष मिनबहादुर बानियाँ, चन्दादाता कृष्णबहादुर बानियाँ, शिक्षक अभिभावक संघका अध्यक्ष विरबहादुर जिसी र विद्यालय सहयोग समितिका हवल्दार कृष्णबहादुर बानियाँले मन्तव्य राखेका थिए ।
विद्यालयलाई १ लाखभन्दा बढी सहयोग गर्नेको नामावलीः
१. पुलाचौर गाविस ५,२७,५००।–
२. कृष्णबहादुर बानियाँ १,२६,१११।–
३. नारायण जिसी १,२५,०००।–
४. ह. कृष्णबहादुर बानियाँ १,२५,०००।–
५. विनोद कुँवर १,१५,०००।–
६. सुर्यप्रकाश बानियाँ १,११,२५५।–
७. पूर्णबहादुर बानियाँ १,०१,०००।–
८. भीमबहादुर बानियाँ १,००५५५।–
९. जितबहादुर बानियाँ १,०००००।–
स्रोतः पौलस्त्य उमावि भिरमुनी, म्याग्दी ।