प्रताप वानियाँ
म्याग्दीको घतान–६ गलेश्वरमा रहेको प्रमुख एवं प्रसिद्ध धार्मिक तिर्थस्थल गलेश्वरधाममा शुक्रबार अक्षयतृतीयाका दिन एकलाख ५५ हजार रुपैयाँको अक्षयकोष स्थापना भएको छ । बागलुङ जिल्लाको अमरभूमी गाविसका धनपति गैरैले आफ्नो परिवारको स्मृतिमा सो कोषको स्थापना गर्नुभएको हो ।
त्यसैगरी अक्षयतृतीयाको दिनमा मात्रै गलेश्वर मन्दिरमा एकलाख भन्दाबढी रकम भेटी सङ्कलन भएको छ । म्याग्दी जिल्ला र छिमकी जिल्लाहरुबाट आएका विभिन्न भक्तजनहरुबाट गरी नगद एकलाख नौहजार तीनसय १५ रुपैयाँ भेटी सङ्कलन भएको हो ।
अक्षयतृतीयका दिन मुठ्ठीदानबाट मात्रै ४६ हजार पाँचसय ३० र तुलादानवापत ६२ हजार सातसय ९२ रुपैयाँ प्राप्त भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । शुक्रबारका दिन भैरहवा, पोखरा, बागलुङलगायतका स्थानहरुबाट मन्दिरमा भक्तजनहरु आएको कोषका सचिव गुमानसिंह कार्कीले बताउनुभयो ।
सचिव कार्कीका अनुसार अक्षय तृतीयाको दिनमा दान गरेको चिज कहिल्यै नष्ट नहुने र पुण्य मिल्ने धार्मिक विश्वास रहेको बताइएको छ । त्यस्तै अक्षयतृतीयाका दिन हिउँदे खेती नयाँ अन्नका रुपमा दान गर्ने प्रचलन रहेको छ भने विशेष गरी जौ दान गर्ने र जौको सातु खाने परम्परा रहेको छ ।
गतवर्ष भन्दा यसवर्ष अक्षयतृतीयाका दिन श्रद्धालु भक्तजनहरुको संख्या र सङ्कलित भेटीमा पनि वृद्धि भएको कोषले जानकारी दिएको छ ।