बागलुङका एक नवविवाहित जोडीले विवाहमा हुने खर्च कटौती गरेर पत्रकारिता पुरस्कार कोष स्थापना गरेका छन् ।
पर्वतको कुर्घा गाविसका सन्तोष क्षेत्री र बागलुङ नगरपालिका–५ कि सिर्जना पन्तले शुक्रबार भएको विवाह समारोहमा उक्त कोषको घोषणा गरेका हुन् । दुवै जनाले नगद रु २५÷२५ हजार कोषमा जम्मा गरेका छन् ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले प्रगतिशील विवाहको आयोजना गरेको थियो । उक्त कोषबाट प्राप्त हुने ब्याजबाट बर्सेनि एक जना धवलागिरिका क्रियाशील पत्रकारलाई पुरस्कृत गरिने जनाइएको छ ।
सिर्जनशील पत्रकारिता पुरस्कार नाम दिइएको उक्त पुरस्कार कोषको सञ्चालनको जिम्मा आदर्श सञ्चार सहकारीले नै लिएको छ । सहकारीका प्रबन्धक तथा पत्रकार महासङ्घ बागलुङका निवर्तमान अध्यक्ष रामबहादुर जिसीको संयोजकत्मा कोष सञ्चालन समितिसमेत गठन गरिएको छ ।
धवलागिरिका चारै जिल्लाका महासङ्घका अध्यक्षहरू पदेन सदस्य रहने गरी पुरस्कार छनोट समिति गठन गरिने आदर्श सञ्चार सहकारीले जनाएको छ । वैदिक विधि र परम्परालाई त्यागेर बर र बधु दुवैतर्फका परिवार प्रगतिशील विवाह गर्न सहमत बनेका थिए । बर र बधु दुवै जना पत्रकारिता पेसामा क्रियाशील रहेका छन् । “विवाहमा हुने अनावश्यक खर्च र तडकभडकलाई निरुत्साहित गर्न र विवाहमा हुने खर्चले केही सामाजिक टेवाको काम गरौँ भन्ने उद्देश्यले हामीले यस्तो विवाह रोज्यौँ”, बर सन्तोष क्षेत्रीले भन्नुभयो ।
दुई जनाको प्रेम सम्बन्धलाई विवाहमा बदलेका जोडीको प्रगतिशील विवाहलाई दुवैतर्फका परिवारजनले सहज स्वीकृति प्रदान गरेका थिए । दुवैतर्फका परिवारजन, आफन्तलगायत अन्य सयौँ उपस्थित व्यक्तित्वहरूको माझमा भएको विवाह समारोहमा कुनै भोजभतेरको समेत आयोजना गरिएको थिएन ।