युवा फुटबलर विमल घर्ती मगर पल्सर स्पोट्स अवार्ड २०७० को वर्षको लोकप्रिय खेलाडीको मनोनयमा परेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले बिहीवार सार्वजनिक गरेको मनोनयमा युवा स्ट्राइकर विमल घर्तीसंँगै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का, भलिवलकी सरस्वती चौधरी, एथलेटिक्सका याम साजन सुनुववार र पौडीकी सोफिया शाह परेका छन् ।
उत्कृष्ठ पाँच खेलाडीको मनोननयमा परेका खेलाडीहरुको नाम बिहीवार एक कार्यक्रमकावीच छनोट समितिका संयोजक एवम् खेलकुद पत्रकार मञ्च सचिव प्रकाश तिमिल्सिनाले सार्वजनिक गरेका हुन् । तिमिल्सिनाका अनुसार विधाको विजेता खेलकुद प्रेमीहरुको मतका आधारमा चयन गरिने छ । यसका लागि मञ्चले एसएमएस भोटिङ्ग गर्नु पर्ने छ । यस्तै अघिल्लो वर्ष जस्तै मनोनित खेलाडीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत पनि मत दिन सक्ने मञ्चले जनाएको छ ।
फेसवुकमा लाइक गर्न www.facebook.com/sportsaward वा www.facebook.com/thtlivenepal मा log on गरी आफुलाई मन पर्ने खेलाडीको फोटोमा क्लिक गरी लाईक गर्नु पर्नेछ । एक एसएमएसको मतलाई पूर्ण मत गनिनेछ भने ४ फेसबुक लाईक बराबर मात्र एक मत गनिने मञ्चले जनाएको छ । विधाका विजेताले ट्रफी र प्रमाणपत्रसँगै पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य मनोनितले उपहारहरु प्राप्त गर्नेछन् । पल्सर स्पोर्टस अवार्डको अागामी जेठ १८ घोषणा हुनेछ।
पारस खड्का, क्रिकेट
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का नेपाललाई विश्व ट्वान्टी-२० मा पुर्याएका प्रभावशाली कप्तान हुन् । उनले युएईमा सम्पन्न आईसीसी बिश्व ट्वान्टी ट्वान्टी छनोटमा एक अर्धसतक सहित २ सय ३२ रन बनाएका थिए ।
छनोट प्रतियोगितामा क्रिकइन्फोको उत्कृष्ट ११ को सुचीमा लगातार दोश्रो पटक पर्न सफल खेलाडी हुन् कप्तान पारस । यसैगरी डिभिजन थ्री क्रिकेटमा जित हात पार्दै पहिलो पटक ५० ओभरको बिश्वकप छनौट प्रतियोगितामा नेपाललाई पुर्याउने कप्तान हुन् खड्का ।
खड्काले बर्मुडामा सम्पन्न डिभिजन थ्रीको उपघि उचाल्दा एक अर्द्धशतक सहित १ सय ७६ रन बनाएका थिए । विश्व ट्वान्टी २० मा उत्कृष्ट खेल देखाएर राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चा बटुल्न सफल कप्तान हुन् खड्का ।
विमल घर्तीमगर, फुटबल
नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्तीले आठौं साफमा नेपालले पाकिस्तानविरुद्ध १-१ बराबरी गर्दा इन्ज्युरी समयमा गोल गरेका थिए भने राष्ट्रिय टिमबाट गोल गर्ने सबैभन्दा कान्छो खेलाडी हुन् ।
यस्तै एएफसी यू-१६ च्याम्पियनसिपको छनोटमा एक ह्याटि्रकसहित ४ गोल गर्दै नेपाललाई एएफसी यू-१६ च्याम्पियनसिपमा छनोट गराउन सफल भएका थिए ।
दोस्रो साफ यू-१६ च्याम्पियनसिपमा एक ह्याटि्रकसहित सर्बाधिक ६ गोल गर्दै नेपाललाई फाइनल पुर्याउन सफल खेलाडी हुन् विमल । यस्तै चर्चित डच क्लब एफसी ट्वेन्टेमा दुई हप्ते ट्रायल लिएका छन् भने विमल हाल वेल्जियन क्लब एन्डरलेक्छ दुई महिने ट्रायल र ट्रेनिङमा व्यस्त छन् ।
यामसजन सुनार, एथ्लेटिक्स
एथ्लेटिक्स खेलाडी यामसजन सुनार ३९ औं राष्ट्रिय एथलेटिक्समा १ सय मिटरको हिट्समा १० दशमलव ५६ सेकेन्डमा पार गर्दै १५ बर्ष पुरानो राष्ट्रिय रेकर्ड तोड्न सफल खेलाडी हुन् ।
उनी नेपालकै फास्टेस्ट एथ्लेटिक्स खेलाडी हुन् भने २ सय मिटरमा पनि स्वर्ण जित्न सफल भएकी छिन् । यस्तै राष्ट्रिय खुला एथलेटिक्स छनोटमा १ सय र २ सय मिटरमा स्वर्ण जित्न सफल खेलाडी हुन् सुनार ।
सरस्वती चौधरी, भलिबल
भलिबल खेलाडी सरस्वती चौधरी एपिएफ क्लबले २०७० मा ५ प्रतियोगिता जित्दा टोलीकी नायिका हुन् ।
उनी एनभीए कपमा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् भने आइजीपी कपमा मोस्ट भ्यालुएबल प्लेर घोषित भएकी थिइन् ।
यस्तै पोखरामा सम्पन्न ओपन भलिबल च्याम्पिएनसिपमा उत्कृष्ट खेलाडी भएकी हुन् अन्य ३ प्रतियोगितामा पनि ब्यक्तिगत पुरस्कार जित्न सफल खेलाडी हुन् ।
सोफिया शाह, पौडी
पौडीबाज सोफिया शाह बार्सिलोनामा सम्पन्न फिना वल्र्ड च्याम्पियनसिपमा ५० र २०० मिटर फ्रिस्टायलमा राष्ट्रिय किर्तीमान बनाउन सफल खेलाडी हुन् ।
यसैगरी उनी एन्एस्ए कपमा १०० मिटर फ्रिस्टायलमा अर्को राष्ट्रिय किर्तीमान कायम गरेकी थिइन् भने २०७० मा सम्पन्न विभिन्न राष्ट्रिय प्रतियोगीतामा ८ स्वर्ण पदक जित्न सफल पौडीबाज हुन् । onlinekhabar.com