प्रताप बानियाँ
महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा बेनीमा महिलाहरुलाई अगरबत्ती बनाउने जिल्लास्तरको तालिम सुरु भएको छ । महिलाहरुको सिप विकास गरी आर्थिक रुपमा सक्षम र उद्यमी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
तालिममा अगरबत्ती बनाउने तरिका, विधि तथा आवश्यक सामग्रीका बारेमा म्याग्दीको वेगखोला–२ वेगकी अगरबत्ती महिला लघुउद्यमी सिमिता पुनले सहजीकरण गरेकी छिन् । अगरबत्तीका लागि बाँस, कोइला, काउलो, तेल, सेन्ट, प्लाष्टिक र रङको आवश्यकता पर्ने उनले बताइन् । दक्ष व्यक्तिले दिमा १ हजार ६ सयवटा अगरबत्तीका काँटाहरु तयार गर्नसक्ने उनको भनाई रहेको छ । त्यस्तै उत्पादित प्रतिकाँटाको २० र दर्जनलाई दुइसय रुपैयाँ पर्ने तथा एक प्याकमा २८ ओटा काँटाहरु हुने उद्यमी पुनले जानकारी दिइन् ।
अगरबत्ती पूजापाठ, कोठा सजावट एवं धार्मिकलगायतका कार्यहरुमा प्रयोग गर्ने गरिन्छ । ५ दिनसम्म सञ्चालन हुने तालिममा श्रीजागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था पुलाचौर गाविसका २० जना महिलाहरुको सहभागीता रहको छ ।