ग्रामीण भेगका महिलालाई सशक्तिकरण

जिल्ला महिला समन्वय समितिको आयोजना र जिल्ला विकास समिति म्याग्दीको सहयोगमा बिहीबारदेखि पश्चिम म्याग्दीको ताकममा महिला सचेतना तथा सशक्तिकरण तालिम सुरु भएको छ । दुर्गम भेगका महिलाहरुलाई स्थानीय निकायबाट हुने सेवा प्रवाहको बारेमा जानकारी गराउने तथा आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

तालिमको उदघाटन गर्दै जिविस म्याग्दीका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले तालिमले स्थानीय महिलाहरुलाई सक्रिय बनाउने बताए । उनले गाउँस्तरमा पनि आर्थिक सामाजिक रुपान्तरण हुने खालका तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताएका थिए । तालिम अवधिभरमा नेतृत्व तथा व्यक्तित्व विकास, महिला सशक्तिकरण, सामाजिक तथा राजनीति क्षेत्रमा महिलाको भूमिका, कार्यक्रमको कार्ययोजना निर्माण, स्थानीय निकायको सेवा प्रवाह, सरोकारवाला निकायसँग सरोकार तथा सवाललगायतका विषयहरुमा सहजीकरण गर्ने आयोजकले जनाएको छ ।

४ दिनसम्म सञ्चालन हुने तालिमको सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य, पिस नेपाल म्याग्दीका कोषाध्यक्ष जमुना आचार्य, जिल्ला लघुउद्यमी संघ म्याग्दीका वरिष्ठ लघुउद्यमद्धय होमदेवी खत्री र खरमाया बिटालुले सहजीकरण गर्ने बताइएको छ । सो तालिममा पश्चिम भेगका गूर्जा, लुलाङ, मुदी, मुना, ताकम, देवीस्थान र विम गरी ७ ओटा गाविसका विभिन्न सामाजिक संघसंस्था एवं राजनीतिक क्षेत्रमा आबद्ध ३० जना महिलाहरुको सक्रिय सहभागीता रहेको छ ।

जिल्ला महिला समन्वय समिति सदस्य तथा कार्यक्रम संयोजक थमसरा पुनको अध्यक्षता, सदस्य विना खड्काको स्वागत र सहजकर्ता होमदेवी खत्रीको सञ्चालनमा सुरु भएको तालिममा नेपाली काँग्रेस ताकमका क्या. मनबहादुर भण्डारी, एमालेका होमबहादुर थापा, एमाओवादीका रामबहादुर खत्री, अन्नपूर्ण बचत तथा कृषि सहकारी संस्था ताकमका प्रवन्धक कलानिधि सुवेदी र महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निलकुमारी भण्डारीले मन्तव्य राखेका थिए । प्रताप बानियाँ