व्यवसायी रुपमा स्वीटर बुन्ने तालिम

जिल्ला विकास समिति म्याग्दी, यूवा साझेदारी कार्यक्रमको सहयोग र पिस नेपाल म्याग्दीको आयोजनामा उनी धागोबाट स्वीटर बुनाई तालिम सुरु भएको छ । महिलाहरुलाई सिप सिकाई आत्मनिर्भर र व्यवसायी बनाउने उद्देश्यले सदरमुकाम बेनीमा तालिम सञ्चालन गरिएको हो ।

स्वीटर बुन्ने आवश्यक सामग्री हस्तान्तरण गर्दै जिविस म्याग्दीका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले तालिम सिकेर आत्मनिर्भर बनी व्यवसायिक रुपमा अगाडि बढ्न सुझाव दिएका छन् । उनले लगानीलाई ध्यान दिएर प्रतिफल निकाल्नेतर्फ लाग्नुपर्ने बताएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठले तालिम अवधिभरमा सिकेका सबै सिकाइहरुलाई पूर्णरुपमा व्यवहारमा उतानुपर्ने बताए । उनले आफ्नो तर्फदेखि उद्यमी बन्न चाहने महिलालाई सक्दो सहयोग गर्ने बताउँदै उत्पादित सामानको बजारीकरण गरिदिनेमा जोड दिएका थिए ।

सोही कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय म्याग्दीका महिला विकास अधिकृत निर्मला शर्माले महिलाहरुलाई सक्षम बनाउन आर्थिक सशक्तिकरणका कार्यक्रमहरु निरन्तर हुनुपर्ने बताएकी छिन् । उनले सहभागीले अभिरुची, आवश्यकता र लगानीलाई मध्येनजर गरेर तालिमबाट उपलब्धि हासिल गर्नुपर्ने बताइन् ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कुविरकुमार श्रेष्ठले तालिमलाई व्यवहारिक रुपमा उपयोग गर्नुपर्ने भन्दै स्थानीय स्रोतसाधनको प्रयोगबाट हस्तकलाका सामान निर्माण गरी स्वरोजगार बन्नुपर्ने धारणा राखेका थिए । कार्यक्रमको अवसर पारेर नवनिर्वाचित केन्द्रीय सदस्य प्रमोद श्रेष्ठ र अर्थुङ्गे गाविसका सचिव पोषनाथ शर्मालाई स्वागत तथा सम्मान गरिएको थियो ।
???????????????????????????????
१५ दिनसम्म चल्ने तालिममा महिला उद्यमी मिना पुनले सहजीकरण गर्ने आयोजकले जनाएको छ । जिल्लाका विभिन्न करिब १४ गाविसका १७ जना महिलाको सहभागीता रहेको तालिममा स्वीटर बुन्ने तथा बुट्टा भर्ने तरिका, त्यसमा प्रयोग हुने सामानलगायतको बारेमा सिकाइने बताइएको छ ।

पिस नेपाल म्याग्दीका अध्यक्ष सिर्जना श्रेष्ठको अध्यक्षता, सचिव लक्ष्मी भण्डारी कार्कीको सञ्चालन र कोषाध्यक्ष जमुना आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दी शाखा अध्यक्ष सुरत केसी, जिल्ला लघुउद्यमी संघ म्याग्दीका लेखा तथा प्रशासन सहायक सावित्री गर्बुजा र हस्तकला संघ म्याग्दीका उपाध्यक्ष दिलु गुरुङले मन्तव्य राखेका थिए ।प्रताप बानियाँ