
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले मंगलबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएको छ। पार्टीका संसदीय दलका सचेतक हितराज पाण्डे र जनार्दन शर्माले प्रधानमन्त्री ओलीलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन्।
पत्र बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनका लागि शुभकामना दिएको सचेतक पाण्डेले जानकारी दिए। माओवादी केन्द्रका नेताद्वय पाण्डे र शर्माले सरकारलाई दिएको समर्थन फिर्ता लिएको विषय राष्ट्रपति विद्या भण्डारीलाई पनि जानकारी गराएका थिए।उनीहरूले प्रधानमन्त्री कार्यालयबाट वाहिरिएलगत्तै राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति भण्डारीलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।