
२४ असार, काठमाडौ । खानेकुराप्रति बालबच्चाको व्यवाहार उनीहरुका बाबुआमासँग मिल्दोजुल्दो हुने निश्कर्ष अमेरिकामा गरिएको एक अध्ययनले निकालेको छ । बालबालिकाको हुने मोटोपन तथा उनीहरुको आहार व्यवहार बुझ्नका लागि गरिएको अध्ययनले सो निश्कर्ष निकालेको हो ।
सन् २००७ देखि २००९ सम्म ६ सय ९८ बालबालिकामा यो अध्ययन गरिएको थियो । अध्ययनमा ६ देखि १२ वर्ष उमेर समुहका बालबालिका सम्मिलित थिए ।
अनुसन्धानकर्ताले हप्ताको सातै दिन बालबालिका तथा उनीहरुका बाबुआमाको ‘फुड ह्याबिट’ विश्लेषण गरेका थिए । अध्ययनमा बाबुआमाको आहार बच्चाको भन्दा केही मात्र बढि भएको पाइएको छ । बच्चाले ग्रहण गर्ने क्यालोरीको मात्रा पनि बाबुआमासित मिल्दोजुल्दो छ । बच्चाको क्यालोरीको मात्रा एक हजार सात सय एकाउन्न (१,७५१) रहेकोमा अभिभावकले ग्रहण गर्ने क्यालोरीको मात्रा एक हजार सात सय ६३ (१,७६३) पाइयो ।
यसबाट अनुसन्धानकर्ताले अभिभावकको आहार नै बच्चाको आहार निर्धारण गर्ने बलियो आधार रहेको निश्कर्ष निकालेका छन् ।
‘दुर्भाग्यवस मानिसहरुले आफ्नो आहारको गुणस्तरप्रति राम्ररी ध्यान दिइरहेका छैनन् । जबकि अभिभावकको आहारको स्तर बच्चाको भन्दा केही मात्र फरक छ,’ अमेरिकाको युनिभर्सिटी अफ डेलावेरकी उप-प्राध्यापक सानोन रम्सन्ले भनिन् ।
अध्ययनको निश्कर्ष ‘द जर्नल अफ द एकेडेमी अफ न्युट्रिसन तथा डाइटिटिक्समा प्रकाशित छ । अनुसन्धानकर्ताले बच्चाहरुको कमजोर आहारको दुई प्रमुख कारणमा खानामा तरकारीको मात्रा कम हुनु तथा धेरै क्यालोरीलाई लिएका छन् ।
(एजेन्सीको सहयोगमा)