
बागलुङ, ८ असोज । बागलुङको काठेखोला गाउँपालिकाले पालिका भित्रका विद्यालयलाई एक दिन विदा दिएको छ ।
बिहीबार अपरान्हदेखि बागलुङसहित देशका विभिन्न भूभागमा भारी वर्षा हुने पूर्वानुमान गरिएसँगै सम्भावित बाढीपहिरो र विपद्जन्य घटनालाई दृष्टिगत गरी काठेखोला गाउँपालिकाले एक दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य लाल विश्वकर्माले बिहीबार एक सूचना जारी गर्दै गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय जानकारी गराउनुभएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
सम्भावित वर्षाका कारण विद्यार्थी तथा अभिभावकको सुरक्षालाई ध्यानमा राख्दै शिक्षा तथा खेलकुद मन्त्रालयको सूचनाअनुसार असोज ९ गते एक दिन स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले बताउनुभयो
गाउँपालिकाले सम्भावित जोखिमबाट बच्न विद्यार्थी तथा अभिभावकलाई आवश्यक सतर्कता अपनाउन, वर्षाका कारण जोखिमयुक्त स्थानमा नजान तथा सुरक्षित रहनसमेत अनुरोध गरेको छ । यसैबीच, निरन्तरको वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने भएकाले सचेत रहन गाउँपालिकाले आग्रह गरेको छ ।








