कालिकाको नेतृत्वमा अन्यौल, सोमबारको छलफल समय अभावले भएन्

बागलुङ, ६ असोज । प्रसिद्ध बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको नेतृत्वको बिषयमा थप अन्यौलता सिर्जना भएको छ । सर्वोच्च अदालतले सोमबारका लागि बोलाएको छलफल समय अभावका कारण हुन नसक्ने जानकारी गराए पछि नेतृत्वमा अन्यौलता सिर्जना भएको हो ।

यस अघी सर्वोच्च अदालतले बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिलाई विघटन गरी नयाँ समिति गठन गर्ने गुठी संस्थानको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले भूपेन्द्र खड्काले दायर गरेको रिटमा सुनुवाइ गर्दै गुठी संस्थानको निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको थियो । गत भदौ १० गते सस्थानले रामबहादुर खड्काकाे नेतृत्वमा नयाँ समिति गठन गरेकाे थियाे ‌‌।

अल्पकालिन आदेश पछि अन्तरिम आदेश जारी गर्ने नगर्ने बिषयमा छलफल गर्न सोमबारका लागि बिपक्षीलाई बोलाईएको थियो । सोमबारको छलफल समय अभावका कारण हुन नसेकेको अधिबक्ता कृतिनाथ शर्मा पौडेलले बताए ।

“गुठी संस्थानले पुरानो समिति बिगठन गरिसकेको छ, नयाँ समितिका पदाधिकारी नियुक्तीको पत्र यथास्थितीमा राख्न अदालतको आदेश आएको हो ।” पौडेलले भने “अल्पकालिन आदेशले कसैको हार जीत भएको छैन्, नव गठित समितिले नियमित पुजा गर्न पाउँछ, महत्वपूर्ण निर्णय गर्न पाउँदैन् ।”

अदालतको अल्पकालिन आदेशले पुरानै समितिले का मगर्न पाउने वा नपाउने भनेको छैन् । गुठी संस्थानले बिगठन गरेको समितिलाई बिगठन नगर्न नभनेकाले नियमित पुजा नयाँ समितिले गर्ने वा गुठीले तोकेको व्यक्तिले पुजा सञ्चालन गर्नुपर्ने अर्का अधिबक्ता राम शर्माले बताए । “अहिलेलाई भ्याकुम जस्तो देखियो, अन्तरिम आदेश नआउँदासम्म पुरानो समिति सकृय हुने वा नयाँले काम थाल्ने भन्ने अन्यौलता छ” शर्माले भने “अल्पकालिन आदेशले निणर्य तत्काल कार्यान्वयन नगर मात्रै भनेको छ, बाँकी बिषय उल्लेख छैन् ।”