एलपी ग्यास विक्रेता संघ बागलुङको अध्यक्षमा सर्वसम्मत राजु चयन

बागलुङ, २७ भदौ । एलपी ग्यास विक्रेता संघ बागलुङको आठौँ साधारण सभा तथा चौथो अधिवेशनबाट व्यवसायी राजु गौतम अध्यक्षमा चयन भएका छन् । शनिबार बागलुङमा बजारमा सम्पन्न अधिवशेनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नरिश्वर शर्मा, महासचिवमा गणेशराज लम्साल, सचिवमा सुरेन्द्र खड्का, कोषाध्यक्षमा राजकपुर श्रेष्ठ र सदस्यहरूमा विजय श्रेष्ठ, कृष्ण खड्का र पन्नीलाल साह चयन भएको संघले जनाएको छ ।

अधिवेशनको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले कठिन परिस्थितिमा पनि एलपी ग्यास व्यवसायीहरूले नाफाभन्दा सेवामुखी भावनालाई प्राथमिकता दिँदै उपभोक्तालाई व्यवस्थित रूपमा ग्यास उपलब्ध गराएको भन्दै प्रशंसा गरे।

उनले व्यवसायीहरूको लगानी र अधिकारको सुरक्षाको प्रत्याभूति राज्यले गर्नुपर्ने बताउदै समय–समयमा व्यवसायीहरूले विभिन्न आरोप र चुनौती सामना गर्नुपरे पनि न्यून नाफामा समेत सेवामूलक ढंगले ग्यास बिक्री–वितरणलाई व्यवस्थित बनाईएको बताए ।
संघका अध्यक्ष हरिप्रसाद आचार्यले जिल्ला प्रशासन कार्यालय, बागलुङ नगरपालिका तथा बागलुङ उद्योग वाणिज्य संघसँग समन्वय गरेर ग्यास अभावका बेला पनि बिक्री–वितरणलाई सहज बनाइएको बताए ।

आचार्यले अप्ठ्यारोमा परेका ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त व्यक्तिका लागि घरमै ग्यास सिलिन्डर पु¥याउन सकिने जानकारी दिदै पछिल्ला दिनहरुमा समस्या भएका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरण गरिरहेको जानकारी दिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले उपभोक्तामाझ सुरक्षित ग्यास प्रयोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिदै साविक धौलागिरि अञ्चललाई केन्द्र बनाएर एलपी ग्यासको डिपो स्थापना गर्न सके आपूर्ति व्यवस्था अझ सहज हुने सुझाव दिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय बागलुङका नारायण कार्की, संघका सस्थापक अध्यक्ष महेन्द्र आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

निवर्तमान अध्यक्ष हरिप्रसाद आचार्यको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा स्वागत सदस्य गणेशराज लम्सालले र कार्यक्रमको सञ्चालन सचिव राजु गौतमले गरेका थिए ।